माइजोगमाई : नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर जिल्लाभर बिभिन्न खेलकुद प्रतियोगिता संचालन भइरहँदा इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजारमा गाउँपालिका स्तरिय फुटबल प्रतियोगिता सुरू भएको छ।
माइजोगमाई फुटबल क्लबको आयोजनामा सुरु भएको सो प्रतियोगिता माइजोगमाई फुटबल क्लबका अध्यक्ष प्रविण राईको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष जीत बहादुर राईको प्रमुख आतिथ्यता तथा वरिष्ठ लोक गायक इन्द्र गुरुङको विशेष आथित्यतामा मंगलबार उद्घाटन गरिएको हो।
नयाँबजार स्थित अमर कल्याण माविको खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा १४ बर्ष मुनिको पुरुष टिम र खुल्ला महिला गरि दुबै तर्फका खेल हुने आयोजकले जनाएको छ।
मंगलबार सम्पन्न उद्घाटन सत्रको पुरुष तर्फको पहिलो खेलमा पूर्व क्षितिज फुटबल क्लब सोयाङले प्रेमेजुङ्ग फुटबल क्लबलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।
निर्धारित समयमा १-१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय ट्राइब्रेकरमा लिइएको थियो। ट्राइब्रेकरमा प्रेमेजुङ्ग फुटबल क्लबले ३ गोल गर्दा पूर्व क्षितिज फुटबल क्लबले ४ गोल गर्दै जित हात परेको हो भने महिला तर्फको पहिलो खेलमा साहारा स्पोर्टिङ्ग क्लब ‘ए’ ले नयाँबजार फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।
त्यस्तै महिला तर्फको दोस्रो खेलमा साहारा स्पोर्टिङ्ग क्लब’बी’ ले देउराली स्पोर्टिङ्ग क्लबलाई पराजित गर्दै जित हासिल गरेको छ। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा साहाराले ३-१ गोल गर्दै देउरालीलाई पराजित गरेको हो।
महिला तर्फको १२ र १४ बर्ष मुनिका पुरुषहरुको ८ टीमको सहभागीता रहेको सो प्रतियोगिताको फाइनल खेल आगामी २० कात्तिकमा हुने आयोजकले समितिका संञ्जीव थामीले जानकारी दिएका छन्। सो प्रतियोगिताको पुरस्कार राशी भने बुधबार बस्ने आयोजक समितिको बैठकले निर्णय गर्ने थामीले बताए।