कतार : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार दोहा आइपुगेकी छन् ।
राष्ट्रपति भण्डारीलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विकास, सामाजिक सुरक्षा तथा श्रममन्त्री इशा बिन साद अल नोएमीले स्वागत गरेका थिए ।
मन्त्री अलनोएमीले स्वागत गर्नुअघि विमानबाट ओर्लिएलगत्तै कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका थिए ।
मित्रराष्ट्र कतारका अमिर शेख हमाद बीन खालिदा अलथानीको मैत्रीपूर्ण निमन्त्रणमा एक प्रतिनिधिमन्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी सोमबारदेखि कतार भ्रमणमा छिन् ।
राष्ट्रपति भण्डारी विमानस्थलबाट सीधै उनलाई आतिथ्यको व्यवस्था मिलाइएको होटल सेराटोन ग्रान्ड प्रस्थान गरेकी छन् ।
सोमबारै राष्ट्रपति भण्डारीको सम्मानमा यहाँस्थित राजदूतावासले रात्रिभोजको आयोजना गर्दैछ ।