फुएतप्पा : इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ४ फूएतप्पामा आजदेखि प्रथम त्रिवेणी गोल्डकप खुल्ला पुरूष नकआउट फुटबल प्रतियोगिता सुरू भएको छ ।
विष्णु मावि फूएतप्पाको खेलमैदानमा सुरू भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती राई (सरू) ले गरिन् ।
खेलको उद्घाटन गर्दै उपाध्यक्ष राईले महिलाहरुलाई पनि खेलकूदको माध्यमबाट अघि बढाउने अभिप्रायले उपाध्यक्षकप महिला खेलकूद प्रतियोगिता आयोजना गरिने बताइन् । खेलको माध्यमबाट राष्ट्रलाई अघि बढाउन सकिने उल्लेख गर्दै उनले खेलाडीलाई प्रोत्साहन गर्न गाउँपालिकाले पहल गर्ने बताइन् ।
उद्घाटन कार्यक्रममै उहाँले जारी प्रतियोगितालाई व्यक्तिगत तर्फबाट ११ हजार पाँच सय नगद प्रदान गर्ने घोषणा गरिन् ।
१६ टीम सहभागी रहेको प्रतियोगितामा आजको उद्घाटन खेलमा लुम्देको पूर्व क्षितिज युवा क्लबलाई एकका विरूद्ध दुई गोल गर्दै आयोजक त्रिवेणी युवा विकास संस्था विजयी बन्यो ।
प्रतियोगिताको विजेताले ५१ हजार १११ र उपविजेताले २५ हजार ५५५ साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष हरि पिठाकोटेले जानकारी दिए ।
कात्तिक २० गतेसम्म चल्ने प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, डिफेन्डर, उदीयमान खेलाडी, अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
त्रिवेणी युवा विकास संस्थाका अध्यक्ष इरन राईको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष सरस्वती राई (सरू) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष हरिप्रसाद दंगाली, राजन पौडेल, प्रअ नेत्रप्रसाद अधिकारी, नेकपाका अध्यक्ष भक्त थापा, निमा शेर्पालगायतले शुभकामना मन्तव्य राखेका थिए ।