इलाम सदरमुकाम स्थापनाको २०० वर्षको अवसरमा लगानी सम्मेलन हुने

इलाम : इलाम नगरपालिका नगरकार्यपालिकाको बैठक विभिन्न निर्णयहरु गर्दै बुधबार सम्पन्न भएको छ ।

कार्यपालिकाको बैठकले इलाम सदरमुकाम स्थापनाको २०० वर्षको अवसरमा आयोजित “इलाम हाम्रो गौरव” कार्यक्रम अन्तर्गत २०७५ सालभरि नै विविध कार्यक्रम सम्पन्न गर्ने निर्णयानुसार इलाम नगरपालिकामा आन्तरिक पूँजी परिचालन र बाह्य लगानी आकर्षित गरी स्थानीय रोजगारी सिर्जना तथा नागरिकहरूको आम्दानी अभिबृद्धि गरी आर्थिक समृद्धि हासिल गर्नका लागि मिति २०७५ कार्तिक २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

लगानी सम्मेलनमा संघीय सरकारका मन्त्रीहरु, इलामबाट प्रतिनिधित्व गर्नुभएका पूर्व प्रधानमन्त्री तथा संविधान सभाका अध्यक्ष, इलाम जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु, १ नं. प्रदेशका मुख्य मन्त्री तथा मन्त्रीहरु, इलाम जिल्लाबाट प्रतिनिधित्व हुने छ भने  प्रदेश सभाका सांसदहरु लगायत सरोकारवालाहरुलाई कार्यक्रममा निमन्त्रणा गरिने भएको छ ।

लगानी सम्मेलन मूल समिति गठन

लगानी सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागि इलाम नगरपालिका, नगर कार्यपालिकाको मूल समिति र सो अन्तर्गत विभिन्न उपसमितिहरु गठन गरिएको छ । इलाम नगरपालिकाका उपप्रमुख सुशीला नेम्बाङको संयोजकत्वमा स्वागत, सत्कार उपसमिति, वडाध्यक्ष नरेश श्रेष्ठको संयोजकत्वमा हल तथा स्वयमसेवक व्यवस्थापन उपसमिति, वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठको संयोजकत्वमा कार्यक्रम सञ्चालन तथा संयोजन उपसमिति,वडाध्यक्ष नुतनदेव दुलालको संयोजकत्वमास्टल व्यवस्थापन उपसमिति, वडाध्यक्ष श्यामकृष्ण घिमिरेको संयोजकत्वमा अतिथि आवास तथा व्यवस्थापन उपसमिति, नगर साहित्य, कला तथा संगीत प्रतिष्ठानको संयोजनमा सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमिति र इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ ।

नमुना सहर इलाम 

यसैगरी १ नं. प्रदेश सरकारले सडक सुशासन तथा सुरक्षा अभियान शुरु गर्ने क्रममा सडक सुशासन र ट्राफिक व्यवस्थापनका लागि इलाम बजार क्षेत्रलाई नमुना सहरको रुपमा विकास गर्ने गराउने कार्यक्रम अगाडि बढाई रहेको हुनाले इलाम बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि इलाम बसपार्कमा पार्किङ्ग सुविधालाई मध्यनजर गरी बहुतले पार्किङ्ग भवन निर्माण योजना कार्यान्वयन गर्नका लागि सम्भाव्यता अध्ययन तथा कार्य प्रारम्भ गराउने निर्णय भएको छ ।

साथै इलाम नगरपालिकाअन्तर्गत नगर प्रहरी र दमकल सञ्चालन व्यवस्थापनका लागि इलाम नगरपालिकाको नगर प्रहरी ऐन, २०७५ को मस्यौदालाई जिल्ला प्रशासन कार्यालय इलाम, जिल्ला प्रहरी कार्यालय इलाम, जिल्ला सरकारी वकिल कार्यालय इलाम र सशस्त्र प्रहरी गणका प्रतिनिधि समेतको बैठकमा छलफल गराई आगामी नगर सभामा लैजाने भएको छ ।

नगरकार्यपालिकाको बैठक इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको प्रवक्ता  ठाकुरनारायण श्रेष्ठले जानकारी दिए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार