रोङ : इलामको रोङ गाउँपालिका वडा नम्बर ६ को थर्पु बजारबाट सलकपुर, निन्दा, बाहुणडाँगी, काँकडभिट्टा हुँदै बिर्तामोडसम्म नियमित बस सेवा संचालन भएको छ । मंगलबारबाट नियमित बस सेवा सुरु भएको हो ।
स्थानीय स्तरबाट बस सेवा सुचारु भएपछि स्थानीयबासी हर्षित बनेका छन् । दैनिक जनजीवनमा सहजता आउने आशाले उनीहरु हर्षित भएका हुन् ।
नजिकैको झापा र भारतीय बजामा निर्भर रहेका जिर्मले र आसपासका नागरिकका लागि नियमित यातायातको साधन सुचारु भएपछि सहजता भएको छ । यसअघि यातायातका साधन नचल्दा त्यहाँ उत्पादित तरकारीहरु बोकेर सलकपुर पु¥याएर गाडीमा लगि बेच्ने गरेको र दैनिक उपभोगका सामान समेत खरिद गरेर ल्याउँदा सलकपुरबाट डढाँल्नोकै भरमा घरसम्म ल्याउनु पर्ने बाध्यता थियो ।
त्यसो त हर्कटे, रम्भ्याङ्ग, धजे सलकपुर, निन्दा काँकडभिट्टा सडक निमार्णको कार्य ०३५ सालबाट थालिएको भएपनि हर्कटे धजेसमको ९ किलोमिटर सडक ०४८ सालबाट नै सवारी साधन गुड्न सक्ने अवस्थामा रहेको थियो । काकडभिट्टा निन्दा सलकपुर सडक पनि ०५८ सालमा इलामका तत्कालिन स्थानीय विकास अधिकारी तर्था वर्तमा संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाले उद्घाटन गरी संचालित थियो ।
उता धजे, सलकपुर खण्डको करिव ४ किलोमिटर सडक ०५६ सालबाट निमार्ण थालिएको थियो । केही समय सवारीका साधनहरु चलेका भएपनि गाजलेडाँडो खण्डमा गएको भिषण पहिरोको कारण सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको थियो ।
पहिले राष्ट्रिय योजना आयोगले हेर्ने सो सडक केही वर्षअघि जिल्ला विकास समितिलाई जिम्मा लगाएपछि स्थानीयबासी पीडित बनेका थिए । तर गाउँमा जनप्रतिनिधिको आगमनपछि गतवर्ष रोङ गाउँपालिकाले २० लाख विनियोजन गरि पहिरोग्रस्त क्षेत्रबाट स्थान परिवर्तन गराएर गाजले डाँडोबाट नै सडक बनेपछि गत वर्षमा सो सडक अवरुद्ध नभएको र सडकको स्थायित्वसँगै जनप्रतिनिधिकै सक्रियतामा यातायात व्यवसायीले बस सेवा संचालन गर्न थालेका हुन् ।
अहिले पनि सडकका केही भागहरु अप्ठ्यारो र साँगुरा रहेपनि यसको नियमित मर्मत र स्तर उन्नतीमा गाउँपालिका र वडा नम्बर ६ को तर्फबाट लगातार जुटिरहने वडा नम्बर ६ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मनिकुमार स्याङ्वो (सुवास) ले बताए ।
इलामबाट झापाको काँकडभिट्टा पुग्न मेची राजमार्ग भन्दा करिव २० किलोमिटर छोटो सो मार्गको स्तरउन्नती र सुधारको लागि प्रदेश र केन्द्र सरकारलाई लगातार झकझकाउने कार्य योजना समेत रहेकोले गाउँपालिकाबाट लगातार प्रयास र पहल गरिने तामाङ्गको भनाइ छ ।
यता स्थानीय बासीहरु भने आफूहरुलाई अहिले जुन सहजता भएको छ यसलाइ टिकाइराख्न जनप्रतिनिधिबाट निरन्तर प्रयास होस् भन्ने अपेक्षा राखेको थर्पुबजारका जीवन राइ बताउँछन् ।
दैनिक रुपमा चल्ने सो बस बिहान रम्भ्याङ्गको थर्पुबजारबाट छुटेर सलकपुर निन्दा काँकडभिट्टाबाट बिर्तामोड पुगेर अपरान्ह फिर्ने गरेको व्यवसायी तथा चालक धनबहादुर प्रधानले बताए ।
हालसम्म थर्पु बजारबाट हर्कटे हुँदै झापा पुग्ने नियमित सवारीका साधन भएपनि उक्त रुटको नियमित सवारी साधन भने सो बस नै पहिलो हो ।