इभाङ : आयोजक रेडस्टार क्लब माङसेबुङ र माङमालुङ फूटबल क्लब इलामको माङसेबुङ २ स्थित इभाङमा जारी दोश्रो रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको सेमिफाइनलमा आफ्ना प्रतिष्पर्धीलाई पराजित गर्दै यी दुई टिमले उपाधिका लागि भेट पक्का गरेको हो ।
पहिलो सेमीफाइनलमा सिक्तेम्बा फूटबल क्लब मिक्लाजुङ पाँचथर विरुद्ध २–० को सहज जित निकाल्दै आयोजक रेडस्टार उपाधि नजिक पुगेको हो । आयोजकलाई उपाधिनजिक पुर्याउन सुमन श्रेष्ठ र युवराज राईको गोल निर्णायक बन्यो ।
पहिलो हाफमा नै अग्रता लिएको आयोजकले दोश्रो हाफमा अग्रता दोब्बर बनाउँदै जित निश्चित गरेको थियो । सुरुवातदेखि नै दवदवा कायम गर्न सफल आयोजकले पहिलो हाफको सातौं मिनेटमा नै अग्रता लिएको थियो । आयोजकले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सुमन श्रेष्ठले टिमलाई अग्रता दिलाए । सिक्तेम्बाका खेलाडीले पेनाल्टी एरियामा फाउल बनाएपछि आयोजकले पेनाल्टी पाएको थियो ।
दोश्रो हाफमा समेत आयोजकले आक्रमक रणनीति लियो । सिक्तेम्बालाई दवावमा राखेको आयोजकले दोश्रो हाफको पाँचौ मिनेटमा पुनः गोल गर्यो । सिक्तेम्बाका कमजोर रक्षपंतीको फाईदा उठाउँदै आयोजकका युवराज राईले सोझै जाली चुमाए ।
यता सिक्तेम्बाले पनि गोल गर्ने केहि अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । आफूले पाएको आधा दर्जन सुन्दर अवसरलाई सदुपयोग गर्न नसक्दा सिक्तेम्बा उपाधि चुम्ने सपना चकनाचुर पार्दै घर फर्कन बाध्य बन्यो ।
क्र्वाटरफाइनलमा आयोजकले भोटेडाँडा फूटबल क्लबलाई रोक्दै सेमिफाइनल प्रवेश गरेको थियो भने सिक्तेम्बाले प्रगतिशील युवाक्लब एकतप्पालाई घर फर्काएको थियो ।
यस्तै आइतबार नै भएको दोश्रो तथा अन्तिम सेमीफाइनलमा उपाधिका लागि बलियो दाबेदार मानिएको जडिबुटि फूटबल क्लब पाँचथरलाई पाखा लगाउँदै माङमालुङ फूटबल क्लबले फाइनलको यात्रा तय गरेको छ । जडिबुटि विरुद्ध ३–१ को जित निकाल्दै माङमालुङले उपाधिका लागि सोमबार हुने फाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो ।
पहिलो हाफमा १ गोलको अग्रता लिएको माङमालुङले दोश्रो हाफमा थप २ गोल गर्न सफल बन्यो । पहिलो हाफको २७ औं मिनेटमा माङमालुङका अरुण राईले पहिलो गोल गरी टिमलाई अग्रता दिलाए । दोश्रो हाफको १४ औं मिनेटमा माङमालुङका राजु बुढाथोकीले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसको दुई मिनेट पनि बित्न नपाउँदै १६ औं मिनेटमा पुनः माङमालुङका मनकुमार राईले गोल गरी टिमलाई तेब्बर बनाए ।
यता जडिबुटिले भने २४ औं मिनेटमा एकमात्र सान्तवना गोल फर्काउन सफल बन्यो । जडिबुटिका सुदिप राईले सान्तवना गोल फर्काएका थिए । खेलको उत्तरार्धमा जटिबुटि खेलमा फर्कन कोसिस गरेपनि गोल गर्न नसकेपछि उपाधिको अर्को दावेदार टिम सेमिफाइनलबाटै बाहिरिन बाध्य बन्यो ।
क्र्वाटरफाइनलमा माङमालुङले सुनुयुमा फूटबल क्लबलाई र जडिबुटिले माङसेबुङ २ लाई पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइलन सोमबार दिउँसो १ बजेदेखि संचालन हुने आयोजक रेडस्टार क्लबका सचिव टंक लिम्बूले नयाँ बुलन्द डटकमलाई जानकारी दिए ।
रेडस्टार क्लब माङसेबुङ गाउँपालिका २ इभाङको आयोजनामा २९ असोजदेखि सञ्चालित इलाम र पाँचथरका २२ टिमको सहभागिता थियो । प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको मिडिया पार्टनर नयाँ बुलन्द डटकम रहेको छ ।