रेडस्टार गोल्डकप : सिक्‍तेम्‍बा र जडिबुटि सेमीफाइनल प्रवेश

इभाङ : सिक्तेम्बा फूटबल क्लब मिक्लाजुङ र जडिबुटि फूटबल क्लब पाँचथर इलामको माङसेबुङ २ इभाङमा जारी दोश्रो रेडस्टार गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको तेश्रो क्वाटरफाइनलमा प्रगतिशील युवाक्लब एकतप्पालाई ३–० को सहज जित निकाल्दै सिक्तेम्बा फूटबल क्लब मिक्लाजुङले सेमिफाइनलको यात्रा तय गरेको हो । जितका लागि सिक्तेम्बाका सुरज योङहाङ, संजीव लावती र सोमकुमार राईले एक एक गोल गरेका थिए । मध्यान्तर अघि दुई र मध्यान्तरपछि एक गोल गर्दै सिक्तेम्बाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलमा विजेता सिक्तेम्बाका कप्तान सुरेश लावती म्यान अफ दी म्याच घोषित भए । सिक्तेम्बाले फाइनल प्रवेशका लागि आइतबार हुने पहिलो सेमीफाइलनमा आयोजक रेडस्टार क्लब माङसेबुङ २ को सामना गर्नुपर्नेछ ।

त्यस्तै शनिबार नै सम्पन्न अन्तिम क्वाटरफाइनलमा माङसेबुङ २ लाई टाईब्रेकरमा ४–३ गोलले पाखा जडिबुटि फूटबल क्लब पाँचथरले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरको आधारमा विजेता निर्धारण गरिएको थियो । खेलको म्यान अफ द म्याच विजेता जडिबुटिका अनिस राई घोषित भए । जडिबुटिले आइतबार नै हुने दोश्रो तथा अन्तिम सेमीफाइलमा माङमालुङ फूटबल क्लब माङसेबुङसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगिताको फाइनल ५ कात्तिकमा हुनेछ । २७ असोजदेखि सञ्चालित प्रतियोगितामा इलाम र पाँचथरका २२ टिम सहभागी छन् । रेडस्टार फूटबल क्लब माङसेबुङ २ इलामको आयोजनामा जारी प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैंयाँ नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिता इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार