इलाम : इलाम नगरपालिकाले व्यवसाय करमा वृद्धि गरेको छ । कार्यपालिका बैठकले दश प्रतिशत व्यवसाय कर वृद्धिको निर्णय गरेको हो । नगरपालिकाले व्यवसायको आधारमा वर्गिकरण गरेर कर लिदै आएको थियो । व्यवसायको आधारमा न्युनतम एक हजार रुपैयाँ देखि १३ हजार रुपैयाँसम्म व्यवसाय कर नगरपालिकाले असुल्दै आएको छ । नगर कार्यपालिका बैठकले वडा नंम्बर २, ३, ११, र १२ नम्बर वडामा ब्यवसाय करमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तै १, ४, ५ र १० नम्बर वडामा १५ प्रतिशत छुट दिने निर्णय गरेको नगर कार्यपालिका प्रवक्ता ठाकुर श्रेष्ठले जानकारी दिए ।
यस्तै नगरले दमकल र सडक वत्तीको शुल्क भने खारेज गरेको छ् । नगरपालिकाले सम्पति करबाट २० प्रतिशत बारुण यन्त्रको सेवा शुल्क लिदै आएको थियो । नगरपालिकाले व्यवसाय करमा लिदै आएको २० प्रतिशत सडक वत्तीको रकम पनि छुट गर्ने निर्णय गरेको छ ।
यस्तै नगर कार्यपालिका बैठकले भूमि कर समेत हेरफेर गरेको छ । नगरपालिकाले कालोपत्रेले छोएको जति जग्गामा भएपनि अधिक्तम दुई हजार रुपैयाँ र कालोपत्रेले नछोएको क्षेत्रमा अधिक्तम एक हजार रुपैयाँ कर लिदै आएको थियो । अब नगरपालिकाको १, ४, ५ र १० नम्बर वडामा प्रतिआना ४ रुपैयाँका दरले भूमि कर लाग्ने छ । त्यस्तै २, ३, ११, र १२ नम्बर वडामा प्रतिरोपनी ६४ रुपैयाँ कर कायम गरिएको छ ।
त्यस्तै नगरपालिकाले राजमार्ग आसपासमा ५० मिटर भित्र सम्मको जग्गामा ९० रुपैयाँ प्रति आनाका दरमा लिदै आएको रकममा हेरफेर भएको छ । वडा नम्बर १, ४, ५ र १० मा २५ मिटर क्षेत्र भित्र रहेका जग्गामा ३० रुपैयाँ, २५ देखि थप २५ मिटर क्षेत्र भित्रको जग्गामा २० रुपैयाँ र बाँकी जग्गामा प्रति आना ४ रुपैयाँका दरले कर लगाउने निर्णय गरेको छ ।
नगरपालिकाले सरकारी स्वास्थ्य संस्थामा प्रसुति गराउँदा यातायात खर्च बापत एक हजार रुपैयाँ रकम दिने भएको छ । नगर कार्यपालिका बैठकले यातायात खर्च बापत थप एक हजार रुपैयाँ दिने निर्णय गरेको हो । सरकारी स्वास्थ्य संस्थामा प्रसुती गराउँदा यस अघिदेखिनै संघीय सरकारले दुई हजार रुपैयाँ यातायात खर्च दिदै आएको थियो । नगरपालिकाको निर्णय कात्तिक १ गतेदेखि लागु हुने इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।