चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव

काठमाडौं : नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्त मात्रामा इन्धन वितरण गरिएको जनाएको छ ।

निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ ।

डिपो प्रमुख इन्जिनियर भरत रेग्मीले सोमबार उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए ।

डिपोले आइतबार पनि पर्याप्त मात्रामा बजारमा इन्धन पठाएको थियो । आइतबार १० लाख ३८ हजार लिटर पेट्रोल र १० लाख २९ हजार लिटर डिजेल उपत्यकाका विभिन्न पम्पमा पठाइएको उनले बताए ।

पम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएकाले कुनै अवस्थामा इन्धन अभाव नहुने जानकारी दिँदै उनले उपत्यकाबाट बाहिरिने सवारी–साधनले पूर्णक्षमतामा इन्धन भर्न खोज्दा पम्पमा केही लाइन देखिएको हुनसक्ने बताए ।

उनले भने–‘निगमले पर्याप्त मात्रामा बजारमा इन्धन पठाएको छ । उपत्यकाबाट बाहिरिने सबै सवारी–साधन एकैपटक पम्पमा जाँदा केही लाइन देखिएको हुनसक्छ । तर, इन्धनको अभाव हुँदैन ।’

निगमको थानकोट डिपोले आपत्कालीन अवस्थाका लागि भन्दै १० कर्मचारीलाई तयारी अवस्थामा राखेको छ ।

पम्पले जनुसुकै बेला इन्धन माग गरे सार्वजनिक बिदा नभनी उपलब्ध गराइने डिपो प्रमुख रेग्मीले बताए ।

उनले भने–‘हामीले डिपोका तीनजना शाखा अधिकृत र केही प्राविधिकसहित १० कर्मचारीलाई तयारी अवस्थामा राखेका छौं । इन्धनको अभाव हुन नदिन पम्पले माग गर्नेबित्तिकै ट्यांकरमा लोड गरेर पठाउँछौं ।’

मंगलबारसम्म थानकोटस्थित डिपो नियमितरुपमा खुल्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार