त्रिशुलीमा बस खस्दा चारजना घाइते

चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङस्थित त्रिशुली नदीमा बस खस्दा चारजना घाइते भएका छन् ।

गएराति १२ः४५ बजे लमजुङबाट काठमाडौ जाँदै गरेको ना५ख ३७०५ नम्बरको बस त्रिशुली नदीमा खसेको हो । बसका चालक तनहुँको भानु नगरपालिका–१ बस्ने वर्ष ४५/५० का शम्भुबहादुर गुरुङ गम्भीर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

उनको अहिले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य तीनजना सामान्य उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ ।

बसमा चारजना मात्रै सवार थिए ।

यसैबीच चितवनको भरतपुर महानगरपालिका–१० स्थित  केन्द्रीय बस टर्मिनलमा गयराति दुईओटा  मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । राति करिब ८ः१० बजेको समयमा ना१५प २०८२ नम्बरको मोटरसाइकल र ना५०प ७५२९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा ना१५प २०८२ नम्बरको मोटरसाइकल चालक भरतपुर–१४ शिवनगरका ३५÷३६ वर्षका सन्तबहादुर ताम्राकारको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा राति ८ः३० मा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का मोटरसाइकल चालक माडी नगरपालिका–६ बस्ने वर्ष २५ का खेमनारायण महतो घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार