पाँचथर : पाँचथरको फाल्गुनन्द-५ का जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिएँसगै स्वास्थ्य परिक्षण समेतको सुविधा पाएका छन् ।
सामाजिक सुरक्षा भत्ता र स्वास्थ्य परिक्षणको सुविधा पाउनेहरुमा विधवा ८१ जना, जेष्ठ एक सय ८४ जना, दलित १० जना, दलित जेष्ठ १४ जना, पूर्ण अपांग सात र अशक्त १५ जना गरि जम्मा तीन सय ११ जनाले सुविधा पाएको वडासचिव टीका चेम्जोङले जानकारी दिए । वृद्ध वृद्धाहरु स्वास्थ्य उपचार गर्न टाढा जानु भन्दा बिराम सहेर बस्ने अनि रोग लुकाउने गरेकाले उनीहरुको स्वास्थ्यस्थिति राम्रो होस् भन्ने उदेश्यले यो सुविधा दिएको वडा अध्यक्ष अविन्द्रप्रसाद चेम्जोङको भनाइ छ ।
चार्डपर्व अघि पाएको रकमबाट उनीहरुमा खुशी छाएको छ स्वास्थ्य परिक्षणको सुविधाले झन् हर्षित भएको बताउँछिन् ९१ वर्षिय जेष्ठ महिला लालमाया चेम्जोङ। आर्थिक वर्ष ०७५/०७६ को प्रथम चौमासिकको भत्ता वितरणको लागि जनकल्याण माध्यमिक विद्यालय,टीका भैरुङ्ग आधारभुत विद्यालय र वडा कार्यालय गरि तीन केन्द्रबाट सेवा प्रदान गरिएको थियो ।
सबै स्थानमा स्वास्थ्य परिक्षणको लागि फाक्तेप स्वास्थ चौकीका इन्चार्ज रमेश शाह र फाक्तेप आयुर्वेदिक औषधालयका इन्चार्ज राजकुमार श्रेष्ठलाई खटाईएको गाउँपालिका प्रबक्ता दानबहादुर अधिकारीले जानकारी दिएका छन् ।
जेष्ठ नागरिकको स्वास्थ परिक्षणमा ग्याष्ट्रीक, बाथ, दम खोकी, मधुमेह,उच्च रक्तचाप जस्ता समस्यहरुका बिरामी पाइएकोले उनीहरुलाई आवश्यकता अनुसारको औषधि र परामर्श दिइएको स्वास्थकर्मी द्वयले बताए ।