रेडस्टार गोल्डकप : भोटेडाँडा, माङमालुङ र सुनुयुमा विजयी

सोमबार तीन खेल हुने

इभाङ : इलामको माङसेबुङ २ इभाङमा जारी दोश्रो रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता अन्तरगत आइतबार तीन खेलहरु भएका छन् । स्थानीय इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगितामा भोटेडाँडा फूटबल क्लब, माङमालुङ फूटबल क्लब र सुनुयुमा क्लब विजयी भई अघिल्लो चरणमा प्रवेश गरका छन् ।

पहिलो खेलमा मालबाँसे फूटबल क्लबलाई ४-१ को सहज जित दर्ता गर्दै भोटेडाँडा अघिल्लो चरण प्रवेश गरेको छ ।

दोश्रो खेलका लागि निर्धारित समयमा जेवाइसी फूटबल क्लब उपस्थित नभएपछि माङमालुङ फूटबल क्लब स्वत विजेता घोषित भयो । त्यसैगरी तेस्रो खेलमा नाङरुङ फूटबल क्लबलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सुनुयुमा क्लबले अघिल्लो चरणको यात्रा पक्का गरेको हो ।

प्रतियोगिता अन्तरगत सोमबार पनि तीन खेलहरु सञ्चालन हुनेछन् । पहिलो खेलमा खोँगी फूटबल क्लब र शान्तिडाँडा फूटबल क्लब, दोश्रो खेलमा मानपुर फूटबल क्लब र माङसेबुङ २ तथा तेश्रो खेलमा जलकन्या फूटबल क्लब र जडिबुटि क्लबीच प्रष्पिर्धा हुने आयोजक रेडस्टार क्लबका सचिव टंक लिम्बूले नयाँ बुलन्द डटकमलाई जानकारी दिए ।

रेडस्टार क्लब माङसेबुङ २ इभाङको आयोजनामा सुरु भएको प्रतियोगिताको फाइनल ५ कात्तिकमा हुनेछ । प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ फूटबल टिमको सहभागिता रहेको छ । विजेताले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन २ नम्बर वडा अध्यक्ष पुष्पराज कार्कीले गरेका थिए । रेडस्टारले गतवर्षदेखि रेडस्टार गोल्डकप फूटबल प्रतियोगिता सुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार