काठमाडौं : बडादसैंमा घर जाने यात्रीसँग बढी भाडा असुल्ने १५ सार्वजनिक यातायातलाई थानकोटमा कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
थानकोट नाका हुँदै विभिन्न स्थानमा जाने सवारीको चलानीमा उल्लेख गरिएको भाडादर र विभागले तोकेको दरमा फरक परेपछि ती सवारीलाई कारबाही गरिएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले राससलाई जानकारी दिए ।
विभागले शनिबार थानकोटमा अनुगमन थालेको हो ।
‘विभागले रु ७०० तोकेको स्थानमा रु एक हजार, रु ४०० तोकेको स्थानमा रु ६०० को चलानी गरेका सवारीलाई आज कारबाही गरियो । तोकेभन्दा बढी भाडा लिने सवारीभित्र छिरेर तपाइँहरुसँग कति भाडा लियो ? भनी सोध्दा यात्रीले सही सूचना दिएनन् । कोही बोल्नै चाहेनन्’–उनले भने ।
काठमाडौंबाट जुम्लासम्मको भाडा रु दुई हजार ८०० तोकिएकामा रु तीन हजार १५० लिएको लिखित उजुरी आएपछि सवारीलाई कारबाही गरी यात्रीबाट बढी लिइएको भाडा फिर्ता गरिएको विभागले जनाएको छ ।
यात्रीले बढी भाडा लिएको टिकटसहित उजुरी गरेमा कारबाही गरी बढी लिइएको भाडा पनि फिर्ता गराउने प्रवक्ता उपाध्यायले बताए ।
बढी भाडा लिने सवारीलाई रु पाँच हजारसम्म जरिवाना गरिएको छ ।
कोटेश्वरबाट सिन्धुलीसम्मको भाडा रु ४८९ तोकिएपनि रु एक हजारसम्म व्यवसायीले उठाइरहेका छन् ।
बल्खुबाट हेटौंडा चल्ने टाटासुमोको भाडादर रु ४०० तोकिएकामा रु एक हजार, कलंकीबाट पोखराको भाडा रु ४८५ मा रु ९००, काठमाडौंबाट चितवनसम्मको भाडा रु ४९० तोकिएकामा रु ९०० सम्म उठाइएको नागरिक अनुगमनकाक्रममा देखिएको सार्वजनिक यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले जानकारी दिए ।
उपत्यकाबाहिर जाने सबै नाकामा विभागले अनुगमन गर्न नसक्दा पनि यात्री ठग्नेक्रम चलिरहेको उनले बताए ।
दसैंका अवसरमा २५ लाखभन्दा बढी यात्री उपत्यकाबाहिर जाने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।