इलाम : नेपालीको महान् पर्व दशैँ तिहारमा अनिवार्य जस्तो बनेको पीङ हाल्ने र खेल्ने परम्परा नै लोप हुँदै गएको छ ।
जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा तीजदेखि दशैँ तिहारसम्म पीङ हालेर खेलिने चलन अहिले लोप हँुदै गएको हो । दशैँका बेला बस्तीका टोलमा पीङ हाल्नका लागि आतुर हुने र खेल्नका लागि तछाडमछाड गर्ने देखिन्थ्यो, तर पछिल्ला वर्षमा युवा पुस्तालाई पीङप्रति चासो नै छैन । युवा पुस्ता पीङप्रति आकर्षित हुन नसक्दा पीङ खेल्ने संस्कृति नै हराउन थालेको हो ।
वर्षको एक पटक धर्ती छोड्नु पर्छ भन्ने मान्यताका कारणले पीङप्रति मानिसको रुचि निकै रहेको पाइन्थ्यो । किशोर, युवादेखि वयस्क उमेर समूहका मानिस पीङ खेलप्रति निकै आकर्षित हुने गर्दथे । आधुनिक जीवनशैलीका कारण मानिस पीङप्रति रुचि देखाउन छाडेका छन् ।
व्यावसायिक प्रयोजनका लागि सञ्चालन हुने मेला, महोसत्वमा नै मानिस आधुनिक ढङ्गका पीङ खेल्न पाइने भएपछि पीङप्रतिको रुचि कमजोर हँुदा दशैँ तिहारमा खेलिने पीङ प्रविधि नै लोप हुने अवस्थामा पुगेको हो । इलाम नगरपालिका –९ का तारा निधि गौतमले बाल्यकालमा लिङ्गे पीङ निकै खेलिने र रमाइलो हुने गरेको अुनभव सुनाउनुभयो ।
उहाँले काठे पीङभन्दा लिङ्गे पीङ खेल्दा रमाइलो हुने र सबै पीङ खेल्न आतुर हुने गर्दथे । गौतमले भन्नुभयो, “पहिला एउटा बस्तीमा एउटा पीङ देखिए पनि अहिले एउटा पनि देखिएको छैन ।”
पीङ बनाउने मानिस गाउँमा नभएपछि धेरैलाई खेल्ने मन भए पनि खेल्न नपाएका हुन् । खरले बाटेर लिङ्गे पीङ बनाउने गरिएको अुनभव युवा पुस्ताको पीङप्रति आकर्षित छैनन्, जसका कारण पीङ नै पहिलाभन्दा कम हालिने गौतमको भनाइ छ । काठ अभावमा काठे पीङ बनाउन सम्भावना नै नभएपछि लिङ्गे पीङ खेलेर मनोरञ्जन लिन रुचाउँछन् ।
सार्वजनिक स्थलमा भेटिने पीङहरू मानिसको मनोरञ्जनको साधनका रूपमा लिइने चलन रहेको थियो । पछिल्ला वर्ष सूचना प्रविधिका कारण मानिस एक्लै रमाउने र सार्वजनिक स्थलमा समूहमा रमाउनेहरू विस्तारै कमी हुँदा पीङ खेल्न संस्कृति नै हराउँदै गएकामा बुढापाकाहरु चिन्तित छन् ।
युवाहरू रोजगारीका लागि शहर तथा विदेश पलायन भएपछि पीङ खेल्ने संस्कृति नै हराउँदै गएको हो । बाटो, मन्दिर, पाटीपौवालगायतका सार्वजनिकस्थलसमेत सरसफाइ हुनसकेको छैन ।