काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।
अनिल पौडेलले लेख्नु भएको पुस्तक इमानको इन्द्रेनीको शनिबार प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् ।
प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताएका छन् । “हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने, “यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं । जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पु¥याएर अन्नको निर्यात पनि गर्ने गरेको छ ।”
सहकारी अभियन्ता तथा नेकपाका नेता केशव वडालको जीवनमा आधारित उक्त पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले वडालको जीवन नै सहकारीमा होमिएको बताए । “नेपालको सहकारी आन्दोलनमा वडालजीको योगदान अतुलनीय छ । पार्टीका हरेक बैठकमा वहाँले सहकारीका एजेण्डा अघि सार्ने र त्यसको महत्व पार्टीका सबै नेताहरुलाई समेत बुझाउने गर्नु भएको छ” प्रधानमन्त्री ओलीले भने ।
मानिसलाई मरेपछि मात्र प्रशंसा गर्ने चलनको अन्त्य गर्दै जीवित छंदै प्रशंसा गरेर पुस्तक लेखेकोमा प्रधानमन्त्री ओलीेले लेखक पौडेललाई धन्यवाद दिए । “त्यस्ता मान्छेको जीवित छंदै प्रशंसा गरिन्छ जसले बाँकी जीवनमा पनि गलत गर्दैनन् भन्ने निश्चित हुन्छ” प्रधानमन्त्री ओलीले भने । “वडालजी त्यस्ता थोरै मध्येका एकजना पात्र हुनुहुन्छ । जसको जीवनकाल मै प्रशंशा भएको छ ।”