सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका २ स्थित माइमझुवामा जारी खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगितामा शनिबार पनि ४ खेलहरु सम्पन्न भएका छन् । शनिबारको खेलमा देउराली स्पोर्टिङ क्लब, स्वतन्त्र रानीटार, आरसीसी प्याङ र माइपातल फूटबल क्लब विजयी भइ अघिल्लो चरणमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा देउराली स्पोर्टिङ क्लबले १-० गोलको अन्तरले तेर्छे फुटबल क्लबलाई पराजित गर्यो । दोस्रो खेलमा टाइब्रेकरमा स्वतन्त्र रानीटार पाँचथर विजयी बन्यो । खोर्साने फुटबल क्लबसँगको खेलमा निर्धारित समयमा दुवै तर्फबाट गोलरहित बराबरी भएपछि टाइब्रेकरमा ४-२ गोल अन्तरले रानिटार विजेता बन्यो ।
तेस्रो खेलमा आरसीसी प्याङले सायाङ्बा फूटबल क्लबलाई १-० गोलले पाखा लगायो । चौथो तथा अन्तिम खेलमा माइपातल फूटबल क्लब विजयी बन्यो । माइपाताल गाउँले गाइज माबु लाई सडेन डेथमा पारजित गर्दै अघिल्ला चरणमा प्रवेश गर्यो ।
प्रतियोगिता अन्तरगत आइतबार पहिलो चरणका एक र दोस्रो चरणका तीन खेलहरु संचालन हुनेछन् । पहिलो चरणको अन्तिमा खेलमा टोड्के झरना र सोङ्मेन फूटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै आइतबार नै हुने दोस्रो चरणको पहिलो खेलमा आयोजक छिन्तापु स्पोर्टिङ क्लब र हेल्लो जस्बीरे, दोस्रो खेलमा लुदिन एफसी र काँकडभिट्टा तथा तेस्रो खेलमा सुनाखरी जमुना र ह्वाइटहर्सबीच प्रतिष्पर्धा हुने आयोजक छिन्तापु स्पोर्टिङ क्लबका सचिब खड्ग गुरुङले नयाँ बुलन्द डटकमलाई जानकारी दिए ।
स्थानीय छिन्तापु स्पोर्टिङ क्लबको आयोजनामा संचालित प्रतियोगिताको विजेताले नगद ६१ हजार र उपविजेताले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र पाउँनेछन् । त्यस्तै हाइस्कोररलाई फूटबल र मेडल, बेस्टप्लेयरलाई ट्रफि र मेडल, वेस्टडिफेन्डरलाई फूटबल र मेडल तथा वेस्ट गोलकिपरलाई ग्लोब्स र मेडलसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा इलाम र पाँचथरका ३२ टिमको सहभागिता छ ।
स्थानीय श्याम्बल माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल २ कात्तिकसमा हुनेछ ।