घर जग्गा खोसिएपछि गोले परिवारको बिचल्ली

उदयपुर : उदयपुरको गाईघाटदेखि करिव ३ किलोमिटर पश्चिम बगाहा गाउँमा काठेघर रहेको एक कठ्ठा जग्गा समेत खोसिएपछि नेपाल तामाङ घेदुङको संघीय अध्यक्ष मोहन गोलेको परिवारको बिचल्ली हुने भएको छ ।

उनले ऋण तिर्नको लागि जग्गा बिक्री गरेर ६ लाख रुपैयाँ बैना लिइसकेका थिए । तर पास गर्न भनेर मालपोत कार्यालय पुग्दा पुरै जग्गा सडक विभागको नाममा गइसकेको देखियो ।

अहिले किन्नेले कि तुरुन्त जग्गा पास गरिदिनु प¥यो, कि पैसा फिर्ता दिनुप¥यो भनेर अल्टिमेटम नै दिएपछि उनी के गर्ने, के नगर्ने भन्ने अन्यौलमा छन् । ‘लिएको पैसा सबै ऋण तिरे, अब कहाँबाट दिनु’ गोलेले भने, ‘घर छोडेर हिड्नुको उपाय छैन ।’ मालपोत र नापी कार्यालयको कर्मचारीको लापरभावीबाट उनको सडकमा नपर्ने जग्गा समेत यसरी खोसाईमा परेको हो ।

जग्गा खोसिएपछि गोले महिना जति दिन मालपोत र नापी कार्यालय धाएर सकेसम्म कागजपत्र मिलाएर संगठनको काममा काठमाडौं हिँडे । तर यता मालपोतले प्रक्रिया अघि बढाएन । उनी फेरि जिल्ला आएर अहिले दिनहुँ कार्यालय धाइरहेका छन् तर मालपोत अधिकृत नवराज खड्काले कहिले विभागमा सोध्नुपर्छ त कहिले सडकको आधिकारित जवाफ आएको छैन भन्दै अल्झाईराखेको उनी बताउँछन् ।

यता सडकमा सोध्यो भने मालपोत कार्यालयले नै पुर्जा बनाईदिएको हुँदा पत्र लेख्नुको कुनै अर्थ नहुने भन्दै आएको छ । जे भएको हो मालपोतले त्यो कुरा लेखेर पठाउनु किन यत्रो समय लगाउँछन्, मैले बुझ्न सकेको छैन गोलेले भने, आफै काम बिगार्ने अनि सर्वसाधारणलाई दुःख दिने यो त हदै भयो ।

मालपोत कार्यालयले यो र त्यो कागज बनाउनुपर्छ भन्दै कहिले नापी कार्यालय त कहिले सडक कार्यालयलाई पत्र लेखेर जवाफ माग्दै हैरान बनाएको गोलेले बताए । ‘नापीले उक्त जग्गा कुनैपनि प्रकारको बाटोले नछोएको भनि पत्र पठाएपछि पनि फेरि पत्रमाथि पत्र लेखेर मालपोतले फिल्ड प्रतिवेदन पेश गर्न भनेर अर्को पत्र पठाएर दुःख दियो’ गोलेले भने ।

मालपोतको पत्र अनुसार ९ असोजमा नै नापी कार्यालयको कर्मचारीले स्थलगत बुझी वडा अध्यक्षको रोहवरमा सरजमिन मुचुल्का समेत मालपोतमा पेश ग¥यो । मुचुल्कामा उक्त जग्गा कुनैपनि बाटोले नछोएको स्पष्ट खुलाइएको छ । तरपनि मालपोतले प्रक्रिया अघि बढाउन अझै आनाकानी गरिरहेको छ ।

गोलेको पत्नी आशामाया तामाङको नाममा दर्ता रहेको साविक उदयपुर गाविस देउरी वडा नम्बर ८ झ कित्ता नम्बर ५९६ को एक कठ्ठा जग्गा २०६३ को निर्णयबाट गाईघाट कदमाहा सडकको नाममा दर्ता भइसकेको मालपोत कार्यालयको श्रेस्तामा उल्लेख छ ।

मूल सडकबाट करिब ५५० मिटर टाढा दक्षिणतर्फ उक्त जग्गा रहेको छ । जबकि त्यस वरपर कसैको जग्गा सडकको नाममा परेको छैन र गोलेको मात्रै टपक्क सडकको नाममा गएको छ । भएको एक कठ्ठा जग्गा समेत खोसिएपछि गोले यतिबेला न्यायको लागि हारगुहार गरिरहेका छन् ।

मालपोत कार्यालयले भने उक्त जग्गा सडकको नाममा दर्ता भइसकेको हुँदा नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट मात्र फिर्ता हुनसक्ने बताएको छ । तर कार्यालयको कर्मचारीको लापरभावीबाट भएको हुनाले यो सबै काम मालपोत कार्यालयबाटै हुनुपर्ने र तत्कालीन कर्मचारीहरुलाई कारवाही समेत हुनुपर्ने गोलेको भनाई छ ।

सडकमा पर्ने जग्गाको लगत कट्टा सम्बन्धि फिल्ड चेक गरी पछिसम्म फरक नपर्ने प्रतिवेदन पेश गर्न मालपोत कार्यालय उदयपुरको खरिदार तस्बीरकुमार श्रेष्ठ, नापी निरीक्षक राजेन्द्र प्रसाद मंडल, अमिन सत्यनारायण यादव र पियन भूपबहादुर खत्री (गौली) लाई कार्यालयले खटाएको थियो । अहिले सबै कर्मचारी रिटायर भई पेन्सन खाइरहेका छन् ।

यसमध्ये खरिदार तस्बीरकुमार श्रेष्ठ त्रियुगा नगरपालिका वडा नं. ४ बगाहाकै स्थानीय बासिन्दा हुन् । स्थानीय कर्मचारीलाई सबै कुरा थाहा हुँदाहुँदै पनि यस्तो काम गरेको हुँदा यो रिसईवी साध्ने उद्देश्यले नियतवस गरिएको गोलेको दाबी छ ।

नगरपालिकामा बार्षिक सम्पति कर आफैले बुझाउँदै आएको उक्त जग्गा बिक्री गर्ने क्रममा मात्र गोले परिवारले सडकको नाममा जग्गा गएको थाहा पाएको थियो । सहायक बाटोले समेत नछोएको उक्त जग्गा सडकको नाममा गएपछि परिवारमा त्रास छाएको छ ।

त्यही जग्गा बेचेर ऋण तिर्ने र बाँकी पैसाले भुइँ घर बनाउने उनले योजना बनाएका थिए । तर जग्गा बिक्रीको प्रक्रिया नै रोकिएपछि उनी अन्यौलमा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार