गाउँभरीका पशुमा खोरेत रोग फैलियो, किसान चिन्तित

  सुजता सुनुवार
0 Shares

इलाम : इलाममा दशैँका लागि मासु प्रयोग गर्न छिमेकी जिल्लाबाट केही राँगा गाउँमा ल्याउन थालिएको छ । चाडबाडका निम्ति भनेर झापाबाट राँगा गाउँमा ल्याएपछि जिल्लाको माङ्सेबुङ गाउँपालिकाका गाउँभरी घरपालुवा पशुलाई खोरेत रोगले ग्रस्त बनाएको छ ।

गाउँपालिकाका दुई वडाका करिब दुई सय पशुमा खोरेत रोग देखा परेको स्थानिय किसान शान्तिराम बुढाथोकीले बताउनु भयो । उहाँका अनुसार , गएको दुई हप्ता अघिदेखि देखा परेको खोरेत रोगले वडा नम्बर १ को गजुरमुखीधाम क्षेत्र र वडा नम्बर २ को साविक इभाङ गाविस १ मा करिब दुई सय पशुमा खोरेत रोग देखा परेकाले किसान चिन्तित भएका छन् ।

शुरुमा स्थानीय एक कृषकको घरको दुई वटा गोरुमा देखिएको थियो उहाँले भन्नु भयो । त्यसपछि गजुरमुखीधाम र इभाङ गाउँभरीका पशुमा यो रोग देखा परेको हो । कृषकका गोठमा बाँधिएका गाई, गोरु, बाछाबाछी र बाख्रामा समेत खोरेत देखिएको स्थानियले बताएका छन् ।

रोगको लक्षणमा धेरैजसो पशुका खुट्टा (खुर)मा र मुखमा घाउ भएको छ । दुहुना पशुको भने थुनमा घाउ भएको छ । यसको प्रत्यक्ष असर दूध उत्पादनमा परेको छ । रोग लागेपछि सबै खाले पशुले घाँस खान छाड्ने, हिँड्न तथा उभिन नसकेर पसारिने जस्ता समस्या देखिन थालेको कृषकको भनाई छ । माऊ गाईलाई खोरेत रोग लागेपछि दूधे बाछोको समेत मुखमा घाउ भएको छ । बाछोका कारण माउको थुनमा सरेर थुनेलो हुने जस्ता समस्या देखिएका छन् ।

वडामा रहेका पशु प्राविधिक महेश राईका अनुसार दशैँका लागि मासु प्रयोग गर्न झापातिरबाट ल्याइएका केही राँगामा यो रोग देखा परेको थियो । त्यसरी ल्याइएका राँगामा खोरेत रोग देखिएकाले यसैबाट अन्य पशुमा सरेको हुने उहाँको भनाई छ । पशु प्राविधिक राईले भ, ‘यहाँ ल्याइएका पशुमा एफएमडी अर्थात् फुट एण्ड माउथ डिजिज (खुट्टा र मुखमा घाउ भएर शुरु हुने खोरेत रोग) का किटाणु फेला परेकाले ल्याइएका पशुबाटै गाउँका पशुमा सरेको हो भनेर सोझै अनुमान लगाउन सकिन्छ । ’

खोरेत देखा परेपछि गाउँ कार्यपालिकाले अहिले खोरेत रोग नियन्त्रण अभियान सञ्चालन गरेको छ । कार्यपालिका अन्तर्गत रहेका पाँच जना पशु प्राविधिकहरूलाई खटाएर खोरेत देखा परेका क्षेत्रहरुका पशुको उपचार भइरहेको छ ।

गाउँपालिकाका अनुसार रोग फैलिएको क्षेत्रमा पाँच किलोमिटरसम्म घेरा लगाएर गजुरमुखीको दोभानदेखि इभाङको सातविसे, वालिङसम्मका पशुमा खोरेत नसरोस् भनेर खोप लगाइँदै छ । अभियानका कारण खोरेत नियन्त्रण हुँदै गएको खटिएका प्राविधिकहरूले बताएका छन् ।

दुई सय पशुमा रोग नियन्त्रणका लागी खोप लगाएका कारण दुई हजार भन्दा बढी पशु रोग लाग्नबाट बचेको पशु प्राविधिक राईको भनाई छ । अहिले जाती हुँदै गरेका रोगी पशुको निरन्तर उपचार भइरहेको छ ।’

रोग पत्ता लगाउन विराटनगरस्थित क्षेत्रीय प्रयोगशालामा पशुको रगत लगेर परीक्षण गरिएको थियो । पशु चिकित्सक तथा प्रयोगशालाको प्रतिवेदनले खोरेत भएको निष्कर्ष निकालेपछि त्यहीँबाट औषधी र खोप ल्याएर अभियान थालिएको गाउँपालिकाका प्रमुख डिकेन्द्र इदिङ्गोले बताए ।

‘खोरेत रोग हो भन्ने थाहा भएपछि गाउँपालिकामा भएका सबै पशु प्राविधिकहरूलाई खटाएर योजनाबद्ध रुपमा अभियान सञ्चालन गरेका थियौँ’ प्रमुख इदिङ्गोले भने । गाउँपालिकामा रहेको विपद् नियन्त्रण कोषको रकमले रोग नियन्त्रण अभियान सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार