रोङ : परिश्रमी पाखुरीहरु चलाउने इलामे भूमि जति मनमोहक छ, त्यती नै आम्दामीयोग्य पनि छ । यहाँको भूमि कान्ला र खोल्सी मात्र होइन, डाँडापाखा र पहरामा रहेको वनस्पतीहरु पनि आम्दानीको श्रोत नै बनेको छ । यसको अर्को उदहारण हो सिस्नो ।
औषधीय गुणको भण्डार मानिने सिस्नो इलामेहरुको लागि मजबुद आम्दानी बन्न थालेको हो । इलाममा तीन प्रजातीका सिस्नो पाइने गरेको छ । पात्ले सिस्नो, धरिया सिस्नो र भाङ्ग्रे गरि तीन प्रजाती रहेकोमा जेठदेखी नै मंसिर महिनासम्म पात्ले सिस्नोको पात र मुन्टाको व्यापार हुने गरेको छ ।
रोङ गाउँपालिका र सुयोदय नगरपालीकाको तारगाउँका जंगलबाट किसानहरुले संकलन गरेर झापाका बजारहरु र भारतीय बजारसम्म लगेर बेच्दा लाखौं आम्दानी गर्ने गरेका व्यापारी लोकबहादुर प्रधान बताउँछन् । यसैगरी असोज लाग्ना साथ ढकमक्क फुल्ने भाङ्ग्रे सिस्नोको फुलहरु पनि संकलन गरेर बेच्ने गरिएको छ । जसबाट पनि किसाले राम्रै आम्दानी गर्ने गरेका छन् ।
नेपालका तराई र भारतका बजारका नागरिकहरुले औधी खोजी गर्ने गरेको सिस्नोको फुल अहिले व्यापारीहरुले गाउबाट नै ५० रुपैयाँमा किनेर लैजाने गरेको भएपनि भारतको नक्सालबाढीमा २ सय भारती रुपैयाँसम्म बिक्ने गरेको छ । कतिपयले शहरमा बसेका आफन्तहरुलाई कोसेलीको रुपमा पठाउने गरेका छन् । यसलाई कुनै लगानी समेत गर्नु नपर्ने र दिनमा सहजै १०/१५ किलोसम्म टिप्न सकिने गरेको छ ।
विभिन्न रोगहरुको अचुक औषधी मानिने सिस्नोलाई आग्र्यानिक खेतीको लागि विषादी बनाउनमा समेत प्रयोग गरिने गरेको कृषि बिज्ञहरुको भनाई छ । तरपनि हालसम्म यसको व्यवसायिक उत्पादन भने गरिएको छैन । यदि सिस्नोको व्यवसायिक उत्पादन गरेर बजारीकरण गराउन सरकारी तवरले लाग्ने हो भने आम्दामीको अर्को गलिलो श्रोत बन्ने निश्चित छ ।