झापा : पूर्वीनाका काँकडभिट्टास्थित मेची नदीमाथि पक्की पुल निर्माणको काम सुरु भएको छ ।
भारततर्फको काम धमाधम अगाडि बढे पनि नेपालतर्फ भने मुआब्जा विवादका कारण काम अगाडि बढ्न सकेको छैन । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्झौता भएको १ वर्षपछि भारतले काँकडभिट्टास्थित मेचीनदीमाथि पक्की पुल निर्माणको काम सुरु गरेको छ ।
एसियाली विकास बैङ्कको लगानीमा झापाको काँकडभिट्टा र भारतको पानीट्याङ्की नाका जोड्ने गरी पुल निर्माण हुँदैछ । तर नेपालतर्फ पुलको पिल्लर गाड्ने र सडक फराकिलो बनाउनका लागि वस्ती सार्ने विषयको विवाद नमिल्दा काम प्रभावित बनिरहेको छ ।
पुल निर्माणस्थलका ४४ घरपरिवारको पुनस्र्थापना र मुआब्जाको काम नटुङ्गिदा यस्तो समस्या आएको हो ।
मुआब्जासहित उचित स्थानमा पुनस्र्थापना नभएसम्म काम हुन नदिने स्थानीयको अडान छ । पुल निर्माण कार्य अवरुद्ध भएपछि मेचीनगर नगरपालिकाले प्रधानमन्त्रीलाई भेटेर मुआब्जा रकम उपलब्ध गराउन आग्रह गरेको थियो ।
तर मन्त्रालयको ढिलाइका कारण काम अघि बढ्न नसकेको मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य बताउँछन् । अधिग्रहणमा पर्ने घर र जग्गाधनीलाई उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाका लागि पहल भइरहेको आचार्यको भनाइ छ ।
यता, पहिले थाहा भएकामध्ये चार परिवारको मात्र धनीपुर्जा भएकाले उनीहरूलाई जग्गा प्राप्ति ऐन अन्तर्गत सरकारले मुआब्जा दिइन मिल्ने सडक डिभिजन कार्यालय दमकका इन्जिनियर माधव पौडेल बताउँछन् ।
पुल निर्माणका लागि भारतले १ अर्ब ५९ करोड भारतीय रुपैयाँ एसियाली विकास बैङ्कबाट सहयोग लिएको छ । १५ सय मिटर लम्बाई रहेको पुलसँगै ८ सय २५ मिटरको ६ लेनको अप्रोच रोड पनि बनाउने योजना त्यसमा समेटिएको छ । मुआब्जा विवादलाई छिट्टै सल्टाएर पुल निर्माणको गतिरोध अन्य गर्नुपर्छ ।