काठमाडौं : हिन्दूहरुको महान् पर्व बडादसैं घर–आँगनमा आइसकेको छ ।
दसैं हर्षोल्लासपूर्वक मनाउने तयारी सर्वसाधारणले आफ्नो गच्छेअनुसार गरिरहेका छन् । तर, ५५ लाख बढी नागरिकको दसैं भने महँगो पर्ने देखिन्छ ।
वि.सं. २०६८ को जनगणनाअनुसार ५४ लाख २७ हजार ३०२ परिवार संख्या छ भने औसत परिवार संख्या ४.८८ छ ।
नेपाल राष्ट्र बैंककाअनुसार विप्रेषणलाईसमेत जोड्दा प्रतिव्यक्ति औसत वार्षिक खर्चयोग्य आय एक लाख ३३ हजार अर्थात् मासिक ११ हजार रुपैयाँ छ ।
औसत परिवार संख्या ५ मान्ने हो भने एउटा परिवारको दसैं खर्च औसत ५० हजार लाग्ने देखिन्छ ।
एउटा परिवारको औसत दसैं खर्च
लुगाफाटा : १०,०००
खाद्यान्न : ५,०००
यातायात : १०,०००
दान–दक्षिणा : ८,०००
मासु: ८,०००
फलफूल तथा मिठाइ : ४,०००
विविध : ५,०००
जम्मा : ५०,०००
केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०६६/६७ मा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षणअनुसार वार्षिक १९ हजार २६१ रुपैयाँभन्दा कम आय भएकालाई गरिबीको रेखामुनि राखेको छ । यस्तो संख्या जनगणनाअनुसार ५५ लाख ६३ हजार बढी छ ।
विभागको सन् २०१५/१६ को घरधुरी सर्वेक्षणलाई आधार मान्ने हो भने नेपालीको औसत वार्षिक उपभोग खर्च तीन लाख २२ हजार ७३० रुपैयाँ रहेको छ । त्यसमध्ये औसत ५४ प्रतिशत खाद्यान्नका लागि खर्च हुने गरेको छ । अर्थात् एक परिवारको मासिक २६ हजार ८९४ रुपैयाँ उपभोगमा खर्च हुने गर्दछ ।
तर, गरिबीको रेखामुनि रहेका साढे ५५ लाख जनताको औसत वार्षिक आय नै २० हजार पनि छैन । यस हिसाबले उनीहरुलाई दसैंले झन् गरिब बनाउने देखिन्छ ।
ऋण काढेरै भएपनि दसैं मनाउने प्रचलन भएको र त्यसले आम्दानी नहुनेलाई ऋणको भार वर्षेनि पर्ने गरेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।