इलाम : वर्षातको समय समाप्त हुने बित्तिकै इलाम र पाँचथरका कृषकले हिउँदे खेती धमाधम शुरु गर्न थालेका छन् ।
चाड पर्वको सुरूवातसँगै हिउँदे खेतीमध्ये तरकारीमा प्रयोग हुने आलुको लागि बीउ जोहो गर्न यतिबेला कृषकहरु हतारिन थालेका छन् ।
इलाम देउमाइ नगरपालिका-१, राँकेबजारका व्यापारीद्वय दिलिप राई र चन्द्रबहादुर श्रेष्ठले करिब १ हजार ४ सय मन भन्दा बढि निले, झ्याले, एमएस, बिटे, होलेण्ड, ल्वाङफुले आदि जातका आलुको बीउहरुको बिक्री गर्न जम्मा गरेका छन् ।
विगत ४ वर्षदेखि आलु उत्पादनको पकेट क्षेत्र पाँचथरका इथुङ, भालुखोप, सुकेपोखोरी, हलहले, पौवाभञ्ज्याङ् लगायतका ठाँउहरुबाट करिब २०-२५ लाख रुपैया लगानी गरि बीउ संकलन गर्दै आएको व्यापारी राई बताउँछन् ।
पाँचथरको फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका साथै इलामको देउमाइ नगरपालिका, इलाम नगरपालिका, सुर्योदय नगरपालिका र फाकफोकथुम गाउँपालिकाका अधिकांश कृषकले अर्डर गरेको जात अनुसारको बीउ ल्याईदिने गर्दछ्न् ।
अहिले आलुको बीउ जात अनुसार प्रति मन (४० किलोग्राम) को मुल्य एक हजार ८ सय देखि तीन हजार रुपैयाँ सम्म रहेको छ ।
स्थानीय व्यापारीले ५० देखि एक सय मनसम्म लैजाने गरेको र धेरैजसो कृषकलाई होम डेलिभरीको सुविधा समेत उनीहरुको भनाइ छ ।
इलाम नगरपालिका-४ मलातेका कृषक टंकनाथ दुलाल भन्छन्, ‘पाँचथर इथुङ्गको बीउ धेरै चर्चित छ त्यहीँबाट ल्याएको निले आलु धेरै राम्रो फल्ने अनि स्वादिलो हुन्छ त्यसैले हरेक सिजनमा त्यहीँको बिउ मगाएर रोप्ने गरेको छु ।’
अर्गानिक तरिकाले उत्पादन गरेको झ्याले आलु तरकारीको लागि बिर्तामोड, बिराटनगर, धरान र काठमाडौं जस्ता ठूला शहरसम्म माग भइ बिक्रीवितरण गरेको व्यापारी श्रेष्ठ बताउँछन् ।