चितवन : नजिकिदैं गरेको चाड दसैं, तिहार र छठ पर्वलाइ मध्ययनजर गर्दै चितवन प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशीलसिंह राठौरले देशको मध्यभागमा अवस्थित जिल्ला रहेको यस क्षेत्रमा दसैँतिहारका दिन धेरै मानिसहरुको आवतजावत हुने र आर्थिक कारोबार पनि बढी हुने भएकोले त्यसलाई मध्ययनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्थालाई कडाइ र प्रभावकारी बनाउन विस्तृत सुरक्षा योजना निर्माण गर्ने कार्य भइरहेको जनाएको हो ।
प्रहरीको सुरक्षा योजनामा दसैँमा जिल्ला बाहिर दसैँ मान्न घर जाने सर्वसाधारणलाई निर्धक्क भइ आफ्नु चार्ड मनाउन र आवश्यक सुरक्षा प्रहरीले दिने भन्दै सबैलाई ढुक्क रहन समेत आग्रह गरे । दसैंमा मानिसहरू घरमा नहुने साथै, चोरीका समेत सम्भावना हुने भएकोले त्यस्ता घरहरुमा पनि प्रहरीले चौंबिसै घण्टा निगरानी राख्ने गरी योजनाहरु तयार पारिएको उनले जानकारी दिए ।
साथै दसैं तिहारमा राजमार्ग भएर आवतजावत गर्ने यात्रुहरुको सहजताका लागी चितवनको तीन ठाउँमा प्रहरी सहायता कक्ष समेत स्थापना गरिएको बताए । उनका अनुसार यसरी सहायता कक्ष स्थापना हुनेमा नारायणगढको पोखरा बसपार्क, भरतपुरको गोन्द्राङ र पारस बसपार्कमा सहायता कक्ष स्थापना रहेको छ ।
सहायता कक्षबाट यात्रुहरुलाई चाडपर्वमा पर्ने समस्याको प्रहरीले तत्कालै समाधान गरिने योजना सहित प्रहरीले आवश्यक सुरक्षा दिइरहेको एसपी राठौरले बताए । उनले सुरक्षा योजनामा विशेष त यात्रुहरुको धेरै आवतजावत हुने राजमार्ग क्षेत्रलाई केन्द्रित गरिएको जानकारी दिए ।
यस्तै, चितवनको अत्ति ब्यस्त शहर नारायणगढ क्षेत्रमा दसैंतिहारमा हुन सक्ने लुटपाट, व्यापारीहरुबाट ठगीका घटनाहरु हुने सम्भावना रहेकोले पनि प्रहरीको योजनामा शहरको भित्री गल्लीदेखि चोक चोकसम्म सादा पोशाकमा प्रहरीहरु खटिने योजना प्रहरीले गरेको एसपी राठौरले बताए ।
यस्तै, उनले घट्ना घटिहालेको खण्डमा तुरुन्तै घट्नास्थलमा पुगेर रङ्गेहात पक्राउ गर्ने लगायत आवश्यक सुरक्षा प्रबन्ध समेत मिलाएको एसपी राठौरले बताए । चाडपर्वमा धेरै आर्थिक कारोबार हुने बैँक तथा बित्तिय संस्था माथि पनि प्रहरीले विशेष निगरानी राख्ने उनले बताए ।
जिल्लाभर रहेका प्रहरी मध्य झन्डै ५ सय भन्दा बढी प्रहरी २४ सै घण्टा शहरको चोकचोकदेखि ढोका बन्द गरिएका भित्रि गल्लीका खाली घरहरुसम्म सादा तथा प्रहरी पोशाकमा खटिने गरी योजना बनाएको समेत उनले बताए ।