सामुदायिक विद्यालय स्तरीय खेलकुद सप्‍ताह सम्पन्‍न

इलाम : वडा शिक्षा समिति इलाम नगरपालिका १० ले विभिन्न कार्यक्रम गरी खेदकुद सप्ताह मनाएको  छ ।

शिक्षा समितिको वार्षिक कार्यतालिका अनुसार ज्याब्लिङ थ्रो, बेलुन फुटाउने, सियोमा धागो छिराउने, चम्चा दौड, चक्लेट दौड, आइक्यू टेस्ट, डग एण्ड बोन, फूटबल, म्युजिकल चेयर, एथलेटिक्स, सटफूट,  भलिबल, फूटबल लगायत खेदकुदका प्रतियोगिता आयोजना गरी खेलकुद सप्ताह मनाएको हो ।

पूर्ण स्मारक माध्यमिक विद्यालय र नन्द माविको आयोजनामा खेलकुद आयोजना गरिएको थियो । पूर्ण स्मारक माविले बुधबार आधारभूत तह अन्तरगतका खेलकुदका कार्यक्रम संचालन गरेको थियो भने नन्द माविले विहीबार मावि तह (कक्षा ९ देखि १२) स्तरीय खेलकुदका प्रतियोगिता संचालन गरेको थियो ।

विहीबार एथलेटिक्स, ज्याब्लिङ थ्रो,  सटफूट,  फूटबल प्रतियोगिता संचालन गरियो । प्रतियोगिता अन्तरगत ४ सय मिटर छात्र दौडमा पुजन उप्रेती (पूर्णस्मारक मावि) प्रथम भए । त्यस्तै मौसम मगर (नन्द मावि) र मदन बराइली (नन्द मावि) क्रमश: द्वितीय र तृतीय भए । छात्रातर्फ सुस्मा मगर (नन्द मावि) प्रथम, एलिसा राई (नन्द मावि) द्वितीय र अमृता राई (पूर्ण स्मारक मावि) तृतीय भइन् ।

त्यस्तै १ सय मिटर दौडमा छात्रतर्फ रमेश बराइली (पूर्णस्मारक मावि) प्रथम, दीपेश राई (नन्द मावि) द्वितीय र आशिस राई (पूर्ण स्मारक मावि) तृतीय भए । छात्रातर्फ सबै नन्द माविका दीक्षा भट्टराई जूनु लिङदम र ललिता आले क्रमश: प्रथम, द्वितीय र तृतीय भइन् ।

ज्याब्लिङ थ्रो छात्रतर्फ दिपेश राई (नन्द मावि) प्रथम, दिनेश श्रेष्ठ (पूर्ण स्मारक मावि) द्वितीय र कुमार शंकर (नन्द मावि) तृतीय भए । छात्रातर्फ पूर्ण सम्मारक माविका दीक्षा राई र रोश्नी श्रेष्ठ क्रमश: प्रथम र द्वितीय भए ।

सटफूटमा छात्रतर्फ कुमार शंकर (नन्द मावि) प्रथम, दिनेश श्रेष्ठ (पूर्ण स्मारक  मावि) द्वितीय र शमीर राई (पूर्ण स्मारक मावि) तृतीय भए । छात्रातर्फ नन्द माविका सिर्जना राई र सूचना राई प्रथम र द्वितीय र तथा पूर्णस्मारक माविकी सविना तामाङ तृतीय भइन् ।

फूटबलमा छात्रातर्फ नन्द मावि विजेता र पूर्ण स्मारक मावि उपविजेता बन्यो । टाइब्रेकरमा ५-३ गोल अन्तरले नन्द मावि विजेता बनेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।

त्यस्तै छात्रतर्फ पनि नन्द मावि नै विजेता बन्यो । सडेन डेथका आधारमा पूर्ण स्मारक माविलाई पराजित गर्दै नन्द मावि विजेता बनेको हो । निर्धारित समयमा १/१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि सडेन डेथसम्म खेल पुगेको थियो ।

नन्द माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी गौतमको अध्यक्षता र वडा अध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष रोम लुङगेलीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा पूर्ण स्मारक माविका प्रधानाध्यापक प्रेम घिमिरे र नन्द माविका सहायक प्रधानाध्यापक उमेश बुढाथोकीले मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले अतिरिक्त क्रियाकलापले विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पर्‍याएको बताउँदै यसलाई निरन्तरता दिने बताएका थिए ।

कार्यक्रममा प्रतियोगिताका विजेता तथा उपविजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी लुङ्गेली सहित अतिथीहरुले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

खेलकद सप्‍ताहमा पूर्ण स्मारक मावि, नन्द मावि, महमाया आवि, नारायण आवि, जलकन्या आवि र जनकल्याण आविको सहभागिता रहेको नन्द माविका सहायक प्रधानाध्यापक उमेश बुढाथोकीले नयाँ बुलन्द डटकमलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार