इलाम : लोपोन्मुख लेप्चा समुदायको भाषा तथा संस्कृतिको जर्गेना गर्नका लागि इलामको रोङ गाउँपालिकाले २० वर्षे रणनीतिक कार्ययोजना तर्जुमा गरेको छ । लेप्चा समुदायको उत्थानका लागि गाउँपालिकाले रणनीतिक कार्ययोजना बनाएको हो ।
गाउँपालिकाका अध्यक्ष शम्शेर राईले कार्ययोजनाभित्र लेप्चाको रहनसहन, बसोवासलाई प्राथमिकता दिएको जानकारी दिए । ‘लेप्चा भनेको हाम्रो संस्कृति हो’, उनले भने, ‘यसका बारेमा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सकियो भने पर्यटकीय दृष्टिले समेत माथि उठ्न सहज हुन्छ ।’ उनले लेप्चा समुदायको संस्कृति र लिपी बचाउनका लागि आफूहरूले योजना निर्माण गरेको जानकारी दिए ।
गाउँपालिकाले रणनीतिक कार्ययोजनामा आगामी पाँच वर्षभित्रमा लेप्चा समुदायको परम्परागत सामग्री राख्नका लागि सङ्ग्रालय निर्माण गरिने भएको छ । रोङ गाउँपालिकाका अध्यक्ष राईका अनुसार एक वर्षभित्रमा लेप्चाको पुरातात्विक महत्वको बारेमा अनुसन्धान गर्ने र बाँकी चार वर्षमा भौतिक निर्माण सक्ने योजना रहेको छ ।
बीस बर्षे योजनामा वार्षिक कार्यतालिका निर्माण गर्ने र प्रदेश सरकारसित पनि आर्थिक क्षेत्रमा सहयोग माग्ने राईको भनाइ छ । उनका अनुसार गाउँपालिकाले लेप्चा समुदायका खाद्यान्नको प्रवद्र्धन गर्नका लागि सामुदायिक घरवाससमेत निर्माण गर्ने भएको छ । गाउँपालिका अध्यक्ष राईले भने, ‘लेप्चा समुदायका खाद्यान्नका माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि उनीहरूका आफ्नै हातबाट बनाएका खाद्यान्न मात्रै समेटिएको घरवास निर्माण गर्ने योजना छ ।’
जनगणना २०६८ का अनुसार लाप्चा समुदायको कूल जनसङ्ख्या तीन हजार ४४५ रहेको छ । उनीहरूमध्ये तीन हजार २६४ जना ग्रामीण अनि १८१ जना शहरी क्षेत्रमा बस्छन् ।