सोजेजस्तो भएन प्रदेश सरकार

विराटनगर : प्रदेश नम्बर–१ मा प्रदेश सरकार गठन भएको सात महिना पुगिसकेको छ ।

तर, सरकार भने विकासको काममा नभइ स्रोत–साधन बाँडफाँट र अधिकार विवादको गाँठो फुकाउनमै अल्झेको देखिन्छ ।

बितेको अवधिमा अपेक्षित उपलब्धि हासिल नभएको भन्दै सरकारप्रति असन्तुष्टिका स्वर सुनिन थालेका छन् ।

प्रदेश नम्बर–१ मा सांसदहरुले खासै काम नपाउँदा फुर्सदिलाजस्तै देखिन्छन् । अर्कोतिर मन्त्रीहरु पनि स्पस्ट लक्ष्य र नीति निर्धारण गर्न नसक्दा अलमलमै रहेका छन् ।

मुख्यमन्त्रीदेखि मन्त्री र सांसदहरु सानाठूला कार्यक्रम, सभा–समारोह उद्घाटनमै समय खर्चिरहेका छन् ।

प्रदेश नम्बर–१ मा सरकार गठन भएको सात महिना पूरा भइसक्यो । प्रदेश सरकार आएपछि विकासको गति तीव्र हुने र सेवा प्रवाह चुस्त हुनेमा विश्वस्त बनेका जनता सरकारको कार्यशैलीप्रति असन्तुष्ट बन्न लागेका छन् ।

जनताका आवश्यकता र आकांक्षाहरुको चाङ एकातिर छ । तर, सरकारको धुन अर्कोतिर भएजस्तो अनुभूति हुन थालेको छ ।

सरकारले रफ्तारका साथ काम गर्न नसकेको र सेवा प्रवाह पनि चुस्त हुन नसकेकाले यस विषयमा सच्चिनुपर्ने प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाको सुझाव छ ।

ऐन, कानुन निर्माण गरी विकास र समृद्धिको बाटोमा गतिशील हुनुपर्नेमा सानातिना कुरामा सरकार अल्झिएको विश्लेषक तथा राजनीतिशास्त्रका सहप्राध्यापक शान्तिराम भण्डारी बताउँछन् ।

सरकारले न त आफ्ना प्राथमिकता ध्यान दिन सकेको छ न त कमजोरी औंल्याउन खोजेको देखिन्छ ।

साधन–स्रोत र अधिकार विवादको गाँठो फुकाउन नसक्दा सरकारका काम–कारबाही प्रभावकारी हुन नसकेको प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो स्वीकार्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार