सिमा क्षेत्रमा इन्स्पेक्टरको दरबन्दी माग

सुनसरी : सुनसरीको दक्षिणवर्ती क्षेत्रको सुरक्षालाई थप मजबुद बनाउन प्रहरी निरिक्षकको दरबन्दी माग गरिएको छ । भारतको सिमा क्षेत्रसँग प्रत्यक्ष जोडिएको यस क्षेत्रमा ‘क’ स्तरको इलाका प्रहरी कार्यालय सहित इन्स्पेक्टरको दरबन्दी स्थानियहरुले माग गरेका हुन ।  असोज ४ गते हरिनगर गाँउपालिकास्थित भुटाहमा स्थानिय खुर्शिद आलमलाई गोली हानि हत्या गरिएपछि सिमावर्ती क्षेत्रको सुरक्षामा स्थानियहरुले चिन्ता व्यक्त गदै जनशक्ति बढाउन माग गरेका छन् ।

दक्षिणवर्ती क्षेत्रमा हरिनगर, देवानगंञ्ज, भोक्राह र कोशी गाँउपालिका भारतको सिमासँग जोडिएको नेपाली भुभाग हो । अहिले इलाका प्रहरी कार्यालय हरिनगर प्रहरी नायब निरिक्षक (सई) को कमाण्डमा संञ्चालित छ । अन्य गाँउपालिकामा चौकी असईको कमाण्डमा चल्दै आएको छ । तर हरिनगर गाँउपालिका बिच भागमा पर्ने भएकाले पनि हरिनगर इलाकामा इन्स्पेक्टर राख्न माग गरिएको हरिनगर गाँउपालिकाका अध्यक्ष गफार अन्सारीले बताए । ‘हामीले इन्स्पेक्टर सहित ७५ जनाको जनशक्ति बढाउन जिल्ला प्रहरी र सुनसरी प्रशासनलाई भनेका छौ’ उनले भने ‘सिमा क्षेत्रको सुरक्षामा प्रहरीको उपस्थिति अब बढाउनु पर्छ’ ।

आलम हत्याकाण्डले यस क्षेत्रमा सुरक्षा थ्रेट बढाएको बताउदै अन्सारीले गृह मन्त्रालयलाई पनि पत्र लेखेर इलाका प्रहरी कार्यालय हरिनगरलाई क स्तरको बनाउन माग गरिएको बताए ।  सिमित प्रहरी अनि स्रोत साधनको कमीले सिमा क्षेत्रमा बढ्दो अपराध न्यूनिकरण गर्न चुनौती बढेकाले गाँउपालिका गम्भीर भएको उनले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीले पनि हरिनगरमा इन्स्पेक्टरको दरबन्दी कायम गर्ने बिषयमा सकरात्मक छ । एसपी राजन अधिकारीले पनि गाँउपालिका र स्थानियको माग अनुसार इन्स्पेक्टरको दरबन्दी बनाउन छलफल भइरहेको जानकारी दिए । ‘हामीले प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई मागको बिषयमा जानकारी गराएका छौ’ उनले भने ‘यस क्षेत्रमा प्रहरीको जनशक्ति बढाउन अति आबश्यक पनि छ’ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार