काठमाडौं, असोज १३ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको शनिबारको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिम (एनआरटी)ले बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मैदानमा आर्मी र एनआरटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
एनआरटीका लागि रोजित पुडासैनीले खेलको १२औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३८औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै आर्मीले खेल बराबरी गर्यो ।
एनआरटीका खेलाडीले डीबक्सभित्र बल ‘ह्यान्ड’ गरेपछि रेफ्रीले आर्मीलाई पेनाल्टीको अवसर दिएका थिए । आर्मीका सन्तोष तामाङले पेनाल्टी सदुपयोग गरी खेल बराबरीमा ल्याएका हुन् ।
राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्कीलगायतको सशक्त अग्रपंक्ति रहे पनि आर्मीले एनआरटीविरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।
यद्यपि, खेलको अन्तिम समयमा पाएको फ्रिकिकमा गोल गरी आर्मीले खेल बराबरी गरेको हो ।
पहिलो हाफमा १–१ गोलको बराबरी भएपनि दोस्रो हाफमा एनआरटीले पुनः अग्रता लिएको थियो ।
खेलको ६४औं मिनेटमा एनआरटीका राजेश परियारले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा आर्मीका सन्तोष तामाङले व्यक्तिगत दोस्रो गोल गरी खेल बराबरीमा ल्याए ।
बराबरीसँगै दुवै टोलीले समान १–१ अंक बाँडेका छन् ।
लिगअन्तर्गत् आइतबार संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ ।