‘कांग्रेसमा गुट उपगुटको अन्त्य गरिनुपर्नेमा जोड’

इलाम : नेपाली कांग्रेसका कार्यकर्ताहरुले पार्टीमा व्याप्त रहेको विभिन्न गुट र उपगुटको अन्त्य गर्न नेतृत्वलाई सुझाव दिएका छन् । दुई दिनसम्म इलाममा संचालन भएको विधान मस्यौदामा सुझाव संकलन कार्यक्रमका सहभागीले जनमत भएर पनि एकतावद्ध नहुँदा कांग्रेसको अवस्था बिग्रदैं गएको बताएका थिए ।

साविक मेचीका इलाम, झापा, पाँचथर र ताप्लेजुङका कार्यकर्ता सहभागी भएको कार्यत्रलमका सहभागीले गुटबन्दीकै कारण निर्वाचनमा कांग्रेले हार व्यहोरेको स्मरण गराउँदै एकतावद्ध भएर कांग्रेस अघि बढ्न सुझाव दिए ।

सहभागीहरुले सबैलाई एकतावद्ध बनाएर अघि बढ्न सक्ने प्रकारको विधान निर्माण गर्न सुझाव समेत दिए । उनीहरुले सबै क्षेत्र, वर्ग, लिङ र समुदायको प्रतिनिभित्व र अपन्तत्व हुने गरि विधान निर्माणका लागि सुझाव दिएका थिए ।

यस्तै युवा अवस्थादेखि नै कांग्रेसमा आर्कषण बढाउन १८ देखि २५ वर्ष उमेर समूहका लागि विशेष व्यवस्था गर्नु पर्ने, उमेरको हद तोकिनुपर्ने, चुस्तदुरुष्त र निर्णयक बनाउन छरितो कार्य समिति बनाउनु पर्ने, एक व्यक्ति एक पदको व्यवस्था गरिनुपर्ने लगायतको सुझाव दिएका थिए ।

कार्यकर्ताहरुले सरकारको रवैयाप्रति कांग्रेसले खबरदारी गर्न नसकेको, गुटबन्दीले पार्टी कम्जोर बन्दै गएको भन्दै नेतृत्वप्रति चर्को असन्तुष्टी व्यक्त गरेका थिए । इलाम कांग्रेसका पूर्ण गौतमले कांग्रेसमा संरचनाको फेरवदल मात्र नभई संस्कार नै बदल्नुपर्ने आवश्यकता रहेका बताए । उनले पात्र मात्र नभई प्रवृत्तिमा समेत सुधार गरी असल नेतृत्व स्थापित गरिनुपर्ने धारणा राखे । यस्तै नयाँ सरचना अनुसार विधान आउन ढिलो भएकाले पनि समस्या भएको कार्यकर्ताहरुले बताएका थिए ।

कार्यक्रममा ४ जिल्लाका केन्द्रीय सदस्य महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति र भादृ संघसंगठनका प्रमुख गरी करिब तीन सय नेता कार्यकताहरुको सहभागिता रहेको कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यले जानकारी दिए ।

नेपाली कांग्रेसले मूलुकको नयाँ संरचना अनुसार विधान तयार गर्ने उदेश्यले देशभर १२ स्थानमा सुझाव संकलन गरिरहेको छ । यहाँबाट संकलित सुझाव विधान मस्यौदा समिति, केन्द्रीय समिति र महासमितिको बैठकमा छलफल गरी स्वीकृत गर्नेछ ।

महासमितिको बैठक आगामी ५ देखि ८ मंसिरसम्मका लागि तय भएको कार्यक्रम समापनपछि आयोजित पत्रकार सम्मेलनमा विधान मस्यौदा समितिका सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए । सोही बैठकले देशभरबाट संकलित सुझावको आधारमा पार्टीको विधान तयार गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार