मुलुकी संहिता ऐन संशोधन

बलात्कारीलाई जन्मकैद

बालिका, पूर्ण अशक्त, अपांगता भएका र वृद्धालाई बलात्कार गर्नेलाई अब जन्मकैद,
चिकित्सकको कसुरको अनुसन्धान गर्ने समितिमा मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ रहने

काठमाडौं : मुलुकी संहिता ऐनले बलात्कार गर्नेलाई अब जन्मकैदको सजाय हुने व्यवस्था गरेको छ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रिय सभाले सोमबार पारित गरेसँगै बालिका, पूर्ण अशक्त, अपांगता भएका र वृद्धालाई बलात्कार गर्नेलाई अब जन्मकैदको सजाय हुने भएको हो ।

यसअघि भने यस्तो अपराध गरेमा मुलुकी अपराध संहिताको दफा २१९ को ३ क मा दश वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे सोह्र वर्षदेखि २० वर्षसम्म सजाय हुने व्यवस्था थियो । सो व्यवस्था संशोधन गरिएको हो । ‘विधेयकमा १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलालाई बलात्कार गरे जन्म कैद हुने’ व्यवस्था गरिएको छ । पछिल्लो समय बलात्कारीलाई कम सजाय भएको र फाँसीको माग चर्किंदै आइरहेका वेला ऐन संशोधन भएको हो ।

विशेषगरी, मुलुकी ऐनमा भएको बलात्कार सम्बन्धी प्रावधान र चिकित्सकबाट हुन सक्ने अपराधको विषयमा संशोधन गरिएको छ । कुनै कसुरको अनुसन्धान, अभियोजन, मुद्दा हेर्ने अधिकार क्षेत्र, सुनुवाइ फैसला कार्यान्वयन वा अन्य कुनै कारबाहीका सम्बन्धमा छुट्टै ऐनमा व्यवस्था गरिएको भए संहिताको व्यवस्थाले असर नगर्ने विधायन समितिले तयार बनाएको प्रतिवेदनमा उल्लेख छ ।

चिकित्सकको कसुरको अनुसन्धान गर्ने समितिमा मेडिकल काउन्सिलले तोकेको सम्बन्धित विज्ञ रहने गरी ऐन संशोधन गरिएको छ । यसअघि कुनै चिकित्सकले गरेको कसुरमा प्रहरीले पक्राउ गरी अनुसन्धान गर्ने र मुद्दा चलाउने व्यवस्था थियो ।

अब मेडिकल काउन्सिलले तोकेको विज्ञ चिकित्सक संयोजक रहने समितिमा स्वास्थ्य सेवाको कम्तिमा एघारौँ तहको अधिकृत, नेपाल प्रहरीको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत, उपभोक्ता हक हितको क्षेत्रमा क्रियाशील र स्वास्थ्य मन्त्रालयले तोकेका एक जना सदस्य रहने व्यवस्था गरिएको छ ।

चिकित्सकले कसैको अंगभंग गर्ने नियतले उपचार गरे, एक अंगको चिरफार गर्नुपर्नेमा अर्काे अंगको चिरफार गरे, अंग बेकम्मा बनाए वा सिफारिस गरिएको औषधिले ज्यान गए त्यसको अनुसन्धान समितिले गर्नेछ । यस्तै, लापरबाही वा हेलचेक््रयाइँ गरी पर्याप्त होसियारी नपु¥याई उपचार गरे, औषधि दिए वा चिरफार भएमा पनि समितिले नै छानबिन गर्नेछ ।

संहितामा यस्तो कार्य गर्दा हुने सजाय भने कायमै राखिएको छ । अपराध संहितामा चिकित्सकको लापरबाहीपूर्ण कार्यले अंगभग भए वा ज्यान मरे पाँच वर्षसम्म कैद र पचास हजार जरिवानाको व्यवस्था छ । हेलचेक््रयाइँबाट ज्यान गए वा अंगभंग भए तीन वर्षसम्म कैद र तीस हजार जरिवानाको व्यवस्था छ । मुलुकी अपराध संहिता ऐनमा भएको यिनै प्रावधानलाई लिएर यसअघि चिकित्सकले आन्दोलन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार