सरकारले प्रेस जगतलाई अंकुश लगाउन खोज्यो : पूर्वमन्त्री श्रेष्ठ

इलाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री गोपालमान श्रेष्ठले दुई तिहाईको सरकारले प्रेस जगतलाई अंकुश लगाउन खोजिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन इलामको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै श्रेष्ठले सरकारले आफ्नो कमीकमजोरीको ढाकछोप गर्न प्रेस जगतलाई अंकुस लगाउन खोजेको आरोप लगाए ।

सरकारको पछिल्लो गतिविधिले लोकतन्त्र नै संकटमा पर्न लागेको बताउँदै पूर्वमन्त्री श्रेष्ठले लोकतन्त्रको रक्षाका निम्ति कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे । ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता परिपूरक हो । प्रेस स्वतन्त्रताको सम्मान भएमात्र लोकतन्त्रको रक्षा हुन सक्छ’ श्रेष्ठले भने, ‘प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि सिंगो प्रेस जगत एकढिक्का सरकारलाई खबरदारी गर्न जरुरी छ ।’ उनले कानुन नै बनाएर सरकार प्रेस स्वतन्त्रताको खिलावमा लागेको बताउँदै त्यसको प्रतिवाद गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।

अर्का केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए । देशमा पछिल्लो समय हत्या, हिंसा, बलात्कार र भष्टाचार मौलाइरहेको बेला सरकार अधिनायकवादतर्फ उन्मुख भएको आङदेम्बेको भनाई थियो । स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालनमा सरकारले नागरिकका अधिकारलाई बन्देज बनाएर एकलौटि अगाडि बढेको आरोप लगाउँदै त्यसका विरुद्ध कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे ।

उनले दिन प्रतिदिनको बलात्कार, हत्या, हिंसा, भ्रष्टाचार, कालोबजारी, महँगीले जनता मारमा परिरहेको बेला देशका प्रधानमन्त्री ठट्टा गर्दै हिँड्नु राम्रो संकेत नभएको बताए । ‘निर्मला हत्या काण्ड भएको ३ महिना बितिसक्यो । अझै दोषी पक्रन सक्दैन । प्रधानमन्त्री ठट्टा गर्दै हिँड्नुहुन्छ । यस्तो सरकारसँग जनताले के आशा गर्नु ?’ उनको प्रतिप्रश्न थियो । उनले जनताको ढाड सेक्ने गरी कर बढाउनु बाहेक सरकारले केही गर्न नसकेको टिप्पणी गरे ।

आङदेम्बेले संघीयतालाई असफल बनाउन केन्द्रीय सरकार नै लागेको आरोप समेत लगाए । जनताको ढाड सेक्ने गरी वृद्धि गरी जनतालाई संघीयताप्रति नै वितृष्णा जगाएको भन्दै सरकारबाट नै संघीयता तुहाउने खेल सुरु भएको आङदेम्बेको बनाई थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार