तीन सञ्‍चारकर्मी र एक सञ्‍चारउद्यमी सम्मानित

  नयाँ बुलन्द  450 पटक हेरिएको

इलाम : नेपाल प्रेस युनियन इलामले तीन सञ्‍चारकर्मी र एक सञ्‍चारउद्यमीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा युनियनका केन्द्रीय सदस्य युवराज गौतम, संस्थापक सदस्य एवम् नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश उपाध्यक्ष सोम सुसेली, पूर्व जिल्ला अध्यक्ष विजयशेर भट्टराई र सञ्चारउद्यमी डम्बर खड्का रहेका छन् ।

उनीहरुलाई नेपाल प्रेस युनियन इलामको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सोमबार पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले दोसल्ला र सम्मानपत्रले सम्मान गरे । गौतम इमेज खबर, सुसेली रेडियो नेपालवाणी एफएम र भट्टराई नेपाल टेलिभिजनमा आवद्ध सञ्चारकर्मी हुन् । खड्का भने इलामबाट प्रशारित चियाबारी एफएमका सञ्चालक हुन् ।

उनीहरुलाई सम्मान गर्दै पूर्वमन्त्री श्रेष्ठले राज्यले प्रेस जगतलाई अंकुश लगाउन खोजिरहेको बताउँदै त्यसका विरुद्ध डटेर सामना गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले लोकतन्त्र र प्रेस जगत परिपूरक रहेको बताउँदै प्रेस जगतको सम्मान भएमात्र लोकतन्त्रको रक्षा हुने धारणा राखे ।

कार्यक्रममा नेपाल कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले केन्द्रीय सरकार नै संघीयतालाई असफल बनाउन लागेको आरोप लगाए । अनावश्यक कर वृद्धि गरी जनतालाई संघीयताप्रति वितृष्णा जगाउँदै दुईतिहाइको सरकारले घीयता तुहाउन लागेको आरोप लगाउँदै आङदेम्बेले त्यसका विरुद्ध पत्रकारहरु एकजुट भएर लाग्न आग्रह गरे ।

यस्तै सम्मानित सञ्‍चारकर्मी गौतमले सरकारले कानुन नै बनाएर पत्रकारहरुमाथि लागएको अंकुश हटाउन माग गरे । उनले त्यसका  लागि नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियन एक भएर अगाडि बढिरहेको धारणा राखे ।

अधिवेशन नेपाल प्रेस युनियन इलामका अध्यक्ष तोयानाथ भट्टराईको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार