फ़ोहोर थुप्रिदै , सरोकारवाला निकाय मौन

चितवन : चितवनको नारायणी नदीमा विश्व सरसफाइ दिवस मनाएको हप्तादिन बित्न नपाउँदै फोहोर थुप्रिन थालेको छ ।
आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको नारायणी नदी किनारलाई पूर्णरुपमा सफा राख्ने भरतपुर महानगरको योजनाअनुसार सरसफाइ समूह ‘वे’ ग्रुपले अभियान नै चलाएर नदीकिनारमा सरसफाइ गरिएको थियो ।
त्यसको हप्ता दिन बित्न नपाउँदै पुनः नारायणी नदीकिनारमा फोहोरको थुप्रो देखिन थालेको हो । गत भदौ ३० गते भरतपुर महानगरले विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गरेर विश्व सरसफाइ दिवस मनाउने क्रममा साप्ताहिक कार्यक्रम नै सञ्चालन गरी धार्मिक क्षेत्र तथा सार्वजनिकस्थलहरुमा बढी फोहोर हुने भएकाले त्यस्ता स्थानहरुमा सरसफाइ गर्दै जनचेतनासमेत फैलाइएको थियो । ‘नेपाली समाजमा धार्मिक तथा सांस्कृतिक मान्यताले गर्दा नदीनाला तथा विभिन्न सार्वजनिकस्थलमा फोहोर फाल्ने प्रचलन बढ्दै गएकोले यसलाई बिस्तारै परिमार्जन गरेर लैजानुपर्ने बताउँछन्, ‘वे’ ग्रुपका अभियन्ता भोजनारायण कँडेल ।
धार्मिक एवम् सांस्कृतिक मान्यताअनुसार पूजापाठ गरेर नदीमा सेलाउनुपर्ने परम्पराले गर्दा नारायणी नदी सफा हुन नसकेको उनले बताए । यस विषयमा भरतपुर महानगरपालिकाले कदम चाल्नुपर्ने उनको भनाइ छ । ‘कतिपय संस्कृतिलाई परिमार्जन गर्न सक्नुपर्छ’, उनी भन्छन्, ‘होइन भने सभ्य तथा सफा समाजको परिकल्पना गर्न सक्दैनौँ ।
९० देखि १००औँ श्रृंखलासम्ममा अभियानै चलाएर नारायणी नदी सरसफाइ गरिए पनि एकदिनको फोहोरले गर्दा नदीकिनार पुरानै अवस्थामा आइपुगेको भन्दै अर्का अभियन्ता नवीन खरेलले चिन्ता प्रकट गरे । ‘यसलाई अन्य स्थानमा व्यवस्थापन गर्ने परम्पराको विकास नभएसम्म सफा समाज निर्माण हुन गाह्रो छ’, उनी भन्छन्, ‘धार्मिक आस्था र विश्वास लिने जोकसैले पनि आफूले गरेको कामले अरुलाई कस्तो खालको असर परेको छ भनेर बुझ्नु आवश्यक छ ।’ नदीमा पनि कुहिने वस्तुमात्रै बगाउने हो भने समस्या नहुने उनको भनाइ छ ।
तर, नकुहिने वस्तु बगाउँदा त्यसको असर मानवलाई मात्रै नभई नदीजन्य प्राणीहरुमा पर्ने गरेको उनले बताए । ‘हामीले हाम्रो धार्मिक आस्थालाई मात्रै मानेर हुँदैन’, उनले भने, ‘हाम्रो धार्मिक आस्था र विश्वासले गर्दा नदीजन्य जीव लोप हुने अवस्थामा पुगिसकेको छ ।’ अब पनि सचेत नभए कुनै दिन नदीमा कुनै पनि प्रजातिका प्राणी नरहन सक्ने उनले बताए । यसबारे सम्बन्धित निकाय मौन बस्न नहुने उनको सुझाव छ । हरेक समुदायले आफ्नो संस्कृति तथा धार्मिक परम्परालाई अपनाउँदा सरसफाइलाई पनि ख्याल गरे स्वच्छ र सफा वातावरणको विकास हुने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार