चितवन : चोरीका गतिविधिलाई नियन्त्रणमा लिनु र चोरलाई आवश्यक कानुनी दायरामा ल्याइ कठघरामा उभ्याउनु पुलिसको कर्तव्य हो । तर, समाजमा दैनिकीजसो चोरीका घटना भइरहने तर चोर भने पत्ता नै नलाग्ने भएमा पुलिसलाई कति धेरै तनाव होला । अहिले यस्तै तनाव ब्यहोर्नेमा एक हो, चितवन प्रहरी ।
चोर र पुलिसको लुकामारीले अधिकांश चोरहरु अझै नियन्त्रण बाहिर नै रहेको छ । चोरी नियन्त्रणका लागि चितवन प्रहरीले जिल्लामा प्रहरी निरीक्षकको कमान्डमा एउटा विशेष टोली नै गठन गरेको छ । प्रहरीले पनि आवश्यक सुरक्षा दिइरहेको बताइएको छ । तर, चोरहरुले भने आफ्नु चोरी अभियानलाई निरन्तरता नै दिइरहेका छन् । भने चोर अझैसम्म पक्राउ समेत पर्न सकिरहेका छैनन् ।
मदिरा चोर्ने भिआइपी चोर
प्रायजसो हामीले पैसा, गरगहना, घडी, मोबाइल, ल्यापटप आदी इत्यादी चोरी भएको घट्ना सुनिएकै हो । तर, चोरहरुले महँगो महँगो रक्सी मात्रै छानीछानी चोर्छन् भन्दा तपाईंहरु अनौठो मान्नुहुन्छ होला । तर, खबर सत्य नै हो । चितवनका एक चोर महाशयले जिल्लामा रहेका विभिन्न होटलहरुमा पुगेर पसल नै फोरी महँगा महँगा रक्सीहरु पनि चोर्न थालेका छन् ।
५० तोला सुन चोरेको आरोपमा एक महिला पक्राउ परेको महिनादिनमै महँगा महँगा रक्सीहरु चोरी गरेको आरोपमा एक पुरूष प्रहरी नियन्त्रणमा आएका छन् । यसरी मदिरा पसल नै फोरेर छानी-छानी महँगो प्रकारका मात्रै रक्सीहरु चोरी गर्ने व्यक्ति हुन्, जिल्ला धादिङ, ज्वालामुखी गाउँपालिका वर्डा नम्बर २ घर भई हाल नवलपुर गैँडाकोटमा डेरा गरी बस्ने वर्ष २३ को विवेश परियार । परियारमाथि गत साउन ३० गते राती भरतपुर महानगरपालिका ७, कृष्णपुर क्यान्सर अस्पताल नजिक रहेको एक मदिरा पसलमा चोरी भएको आरोप लागेको छ ।
नेपाली बजारमा महँगा र राम्रा मानिने डबल ब्ल्याक लेभल, ब्ल्याक लेभल, रेड लेभल, ब्ल्याक ओल्ड दरबार, सिग्नेचरजस्ता नेपाली बजारमा बिक्री हुने महँगा रक्सी चोरी गरेको आरोप उनीमाथि लागेको हो । रक्सी चोर आरोपित बिवश परियारको साथबाट प्रहरीले डबल ब्ल्याक लेभल २ फुल, ब्ल्याक लेभल २ फुल, रेड लेभल १ बोतल, ब्ल्याक ओल्ड दरबार ६ फुल, सिग्नेचर ६ फुल र ८८४८ रक्सी १२ फुल बोतलसहित फेला परेको बताइएको छ ।
प्रहरीका अनुसार चोरले झन्डै २ लाख मूल्यबराबरको चोरी गरेका रहेछन् । महँगा रक्सीहरु चोरेर उनीहरुले अन्यत्र बेच्ने गरेको प्रहरीले जनाएको छ । पसल सञ्चालक रामबाबु रेग्मीले सिसी क्यामराको सहायताले चोरलाइ आफैँले चिनेर प्रहरीसँग को समन्वयमा पक्राउ गराउन सफल भएका हुन् । पसल सञ्चालक रेग्मी र प्रहरी बिचको समन्वयको आधारमा चोरी आरोपित परियार पक्राउ परेपछि अन्य मदिरा पसलका सञ्चालकहरुले समेत आफूहरुको पनि पसलमा चोरी भएको भन्दै चितवन प्रहरीमा निवेदन दिएका छन् ।
निवेदन दिएका पसलहरुमा पनि उनै परियारले चोरी गरेका हुन् या होइनन् भन्ने बिषयमा प्रहरीले आवश्यक रूपमा अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी सुशील सिंह राठौरले बताए । अनुसन्धानका क्रममा आरोपित व्यक्तिले केही मदिरा पसल चोरी गरेको स्वीकार गरेका छन् । यस घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै प्रहरीले खोजी गरिरहेका छ ।