म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रमा रहेका धार्मिक पर्यटकीय स्थलको पूर्वाधार निर्माणले तिब्रता पाएको छ ।
हिमाली पर्यटकीय जिल्ला मुस्ताङ, धौलागिरी, अन्नपूर्ण हिमाल र ढोरपाटन शिकार आरक्षको प्रवेशद्धार बेनीको पर्यटन विकासका लागि पूर्वाधार निर्माण गरिएको हो ।
ग्रामीण सडक विस्तारसँगै छोटिएको धौलागिरी चक्रीय पदमार्गको विकल्पमा बेनीदेखि धार्मिकस्थल पछै, पुलाश्रम, जगन्नाथ, प्राकृतिक भ्यू पोईन्ट टोड्के, मालीका धुरी, बिम, मराङ हुँदै धौलागिरि आधार शिविर जोड्ने पदमार्ग निर्माण सुरु भएको छ ।चार वर्षअघि पहिचान भएको बैकल्पिक पदमार्गमा बेनी नगरपालिका, पर्यटन विभाग र समुदायले पूर्वाधार निर्माण सुरु गरेका हुन् ।
पर्यटन बिभाग र बेनी नगरपालिकाको करिब ४० लाख रुपैयाँ सहयोगमा बेनी बजारदेखि प्रस्तावित रामायण उद्यान निर्माण स्थल आँपरुख जोड्ने उकालो बाटोमा एक किलोमिटर पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको छ ।५७ लाख रुपैयाँ लागत अनुमान गरिएको बेनी बजारको हाँडेभिरदेखि बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिल जोड्ने पक्की पदमार्ग निर्माणका लागि नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ र म्याग्दी उद्योग वाणिज्य संघबीच सम्झौता भएको छ ।
डिपीआर बनेपछि यसै वर्षदेखि रामायण उद्यान निर्माण सुरु गर्न नगरपालिकाले ४२ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।मुस्ताङ र म्याग्दीका पर्यटकीय स्थलको भ्रमणमा आउने पर्यटकको बेनी बसाई लम्बाउनका लागि एकीकृत पर्यटन गुरुयोजना तयार गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।