इलाममा विद्युत अनियमितता, उपभोक्ता मारमा

  नयाँ बुलन्द
0 Shares

इलाम : गत ३१ बैसाखमा नेपाल लोडसेडिङमुक्त देश घोषणा भयो । कुनैबेला दैनिक ६ घण्टा मात्र विद्युत उपयोग गर्न पाएका देशभरका उपभोक्ताहरु देश लोडसेडिङमुक्त भएसँगै २४ सै घण्टा उज्यालेमा रम्न पाए । नियमित विद्युत उपभोग गर्न पाएपछि व्यवसायी र उपभोक्ताहरु उत्साहित भए ।

तर इलामका उपभोक्ताले भने लोडसेडिङमुक्तको अनुभूति गर्न पाएका छैनन् । सदरमुकामसँगै ग्रामीण क्षेत्रमा विद्युत अनियमितता बढेपछि उपभोक्ताले हैरानी खेप्नु परेको छ । दैनिक सयौं पटक विद्युत अवरुद्ध हुने समस्याले उपभोक्ता आजित बनका छन् ।

क्षणक्षणको विद्युत अवरुद्धले व्यवसायी समस्यामा परेका छन् । विगत केही दिनयता इलाममा विद्युत अनियमितता तीब्र भएको छ । विनासूचना सयौं पटक विद्युत आपूर्ति अवरुद्ध हुँदा व्यवसायी मारमा परेका छन् ।

विद्युत अनियमितताका कारण सदरमुकाम सहित ग्रामीण क्षेत्रका सर्वसाधारण तथा विद्युत उपभोग्य संघसंस्थाहरु मारमा परेका छन् । विद्युत अनियमितताले उद्योगधन्दा सञ्चालनमा असर परेको व्यवसायीले बताएका छन् । कम्युनिकेशन, एफएम रेडियो, पत्रपत्रिका, अनलाइन, कार्यालय तथा कलकारखाना सञ्चालनमा समेत कठिनाई भएको छ ।

बत्ती आउने–जाने गरिरहने भएकाले कम्प्युटर लगायत विद्युतीय उपकरणहरु समेत बिग्रिने चिन्ता इलामका उपभोक्तामा छ ।

यता विद्युत अनियमिता सम्बन्धि नेपाल विद्युत प्राधिकरण इलाममा सम्पर्क गर्दा झापाको अनारमनी स्टेशनबाट नै असन्तुलित भोल्टेज आइरहेकाले यस्तो समस्या आउने गरेको बताउँछन् । प्राधिकरण प्रमुख रविनबाबु घिमिरेले पछिल्लो समय इलाम, पाँचथर र ताप्लेजुङमा यस्तो समस्या बढेकाले फल्ट पत्ता लगाउने काम भईरहेको बताए । ‘अहिलेसम्म फल्ट कहाँ भएको भन्ने नै पत्ता लागेको छैन । त्यस्तो पत्ता लगाउने मेसिन त छैन । तरपनि हामी कोसिस गरिरहेका छौं’ प्रमुख घिमिरेले भने, ‘फल्ट पत्ता लाग्नसाथ समाधान गर्नेछौं ।’

उनले कहिलेकाँही हावाहुरीको मौसमसँगै विद्युुत अवरुद्ध हुने गरेको बताउँछन् । बिग्रिएको स्थानमा तत्काल मर्मत गर्न पनि समस्या हुने गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार