पहिरोले पुरिएर ताल बनेको बाग्लुङको बडीगाड खोलामा पानी बग्न थाल्यो

  नयाँ बुलन्द
0 Shares

पर्वत : पहिरो गएपछि थुनिएको बाग्लुङको बडिगाड खोलामा झन्डै दुई किलोमिटर लामो ताल बनेको छ ।

गएराति ११ बजेपछि गएको पहिरोले थुनिएको बडिगाड खोलामा लामो ताल बनेको हो । तर बिहान साढे ५ बजेपछि ओभरफ्लो भएर पानी बग्न थालेको छ ।

बाग्लुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले थुनिएर बनेको तालबाट पानी बग्न थालेको र तालमा पानीको सतह घट्दै गएको बताए ।

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. १ को तुरतुरे र बडिगाड गाउँपालिका वडा नं. ७ को बीचमा पर्ने तुरतुरेस्थित बडिगाड खोला पहिरोका कारण थुनिएको हो ।

खोला थुनिएपछि ढोरपाटन–२ सिमलचौरका चुराबहादुर कुमालको गोठसहित ३ गोरु तालमा डुबेका छन् ।

देवीराम कुमाल, कृष्णबहादुर कुमाल र रामबहादुर कुमालको घर गोठ पनि डुबेको प्रहरीले जनाएको छ ।

मध्यपहाडी लोकमार्गको ठूलो भ¥याङखण्डको सडक भदौ २३ गतेबाट बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म यातायात ठप्प पारी स्तरोन्नति गर्ने कार्य भइरहेका बेला भीषण पहिरो खसेको हो ।

स्थानीय प्रशासनले स्थानीवासीलाई सचेत गराउने र ताललाई व्यवस्थित ढंगले खुलाउने प्रयास भइरहेको जनाएको छ ।

पहिरो खसेर खोला थुनिएपछि खोला किनारका बाग्लुङ र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् ।

पहिरोका कारण बाग्लुङका भीङगिठे, खारा, खरबाङ र गुल्मीका भूपाचिदी, मजुवा, चोरकाटे, उल्लीखोला, रिडीसम्मका बासिन्दा जाग्राम बसेका हुन् ।

खोला थुनिएको जानकारी पाएलगत्तै बाग्लुङबाट नेपाली सेना, नेपाल प्रहरीसहितको टोली खोलाको बहाव खोल्ने प्रयासमा लागेको छ ।

रातिदेखि थुनिएको खोला बिहानदेखि ओभरफ्लो भएर बग्न थाले पनि संकट भने नटरेको बाग्लुङ प्रहरीले जनाएको छ ।

नदी किनाराका बासिन्दालाई अलर्टमा रहन स्थानीय प्रशासनले सूचीत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार