पाशुपत क्षेत्रमा सवारी सञ्चालनमा प्रतिबन्ध, यसरी गरिँदैछ आज काठमाडौंको ट्राफिक व्यवस्थापन

  नयाँ बुलन्द
0 Shares

काठमाठौं : नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्वका कारण पशुपतिनाथ क्षेत्रमा सवारी साधन सञ्चालनमा आज प्रतिबन्ध लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका सञ्चालन गर्न प्रतिबन्ध लगाएको हो । यसको विकल्पमा केही विभिन्न स्थानमा सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । साथै बाग्मती करिडोरका केही रुटमा पनि यातायात सञ्चालनमा प्रतिबन्ध लगाएको छ । महाशाखाले जारी गरेको सूचना अनुसार तीनकुने गौशालातर्फ भएर चल्ने मालवाहक सवारी साधनलाई दिनभर चल्न रोक लगाइने छ । यस्तै, नारायणटार पुलबाट करिडोरको बाटो भएर चल्ने सबै मालवाहक सवारीलाई पनि चलाउन रोक लगाइने छ । उक्त रुटमा पानी ट्याङ्कर सञ्चालनमा पनि रोक लगाइने छ ।

महाशाखाले तिजका दिन पशुपतिनाथ मन्दिर परिसर भएर चल्ने सवारी साधनका लागि नयाँ रुटको व्यवस्था मिलाएको छ । प्रतिबन्ध लगाएको क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि निश्चित रुट तोकिएको छ ।सूचना अनुसार नयाँ बानेश्वर, तीनकुने भएर चक्रपथ परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर बानेश्वर हुँदै सिनामंगलसम्म र त्यही रुट भएर फर्कने व्यवस्था गरिएको छ ।

यस्तै, रातोपुल गौशाला हुँदै चावहिल बौद्धतर्फ चल्ने सवारी साधनलाई पुरानो बसपार्क भोटाहिटी, जमल हुँदै लाजिम्पाट, नारायण गोपाल चोकबाट चावहिल जान पाउने व्यवस्था गरिएको छ ।रातोपुल गौशाला भएर चल्ने माइक्रो बस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, जमल हुँदै सानो गौचरण, कालोपुल तथा सिफलबाट चल्ने व्यवस्था मिलाइएको छ ।

शंखमूल नयाँ बानेश्वर हुँदै पुरानो बानेश्वर भएर चल्ने माइक्रोबस र टेम्पोहरूलाई पुरानो बानेश्वरबाट सेतोपुल हुँदै करिडोरको बाटोबाट कालोपुल निस्कने व्यवस्था मिलाइएको छ । दर्शनार्थी, तीर्थयात्री तथा पर्यटकका लागि तिलगंगामा पार्किङको व्यवस्था गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सरकारी सवारीसाधनलाई भने प्रहरी प्रभाव गौशालामा पार्किङको व्यवस्था मिलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार