चिकित्सकको लापरबाहीले बालकको ज्यान गयो

प्रशासनले सोधेको २४ घण्टे स्पष्टीकरणको समय पनि सकियो

चितवन : चिकित्सकको चरम लापरबाही र हेल्चेक्र्याइका कारण यहाँका तीन बर्षीया बालकले ज्यान नै गुमाउनुपरेको छ । भाद्र २० गते सर्पको डसाइबाट घाइते भई भरतपुर अस्पतालसहित पाँच अस्पतालमा भौंतारिने क्रममा भरतपुर-१५, मंगलपुरका तीन वर्षीय बालक सलिन विकको मृत्यु भएपछि चितवन प्रशासनले जिल्लामा रहेका पाँचवटा अस्पतालसित २४ घण्टे लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय र भरतपुर महानगरपालिकाले गरेको संयुक्त अनुगमनका क्रममा प्रशासनले उक्त निर्देशन दिएको हो ‘अनुगमनका हुँदा त्यहाँ कुनै पनि अस्पतालका कर्मचारीहरूमा मानवीय संम्बेदना देखिएन,’ प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतले भने, ‘लिखित जवाफ आएपछि थप अनुसन्धान गरेर कानुनी उपचारको प्रक्रिया अपनाउँने छौँ ।’

भएको के हो

अस्पतालको चरम लापरबाही अनि हेल्चेंक्याइँले चितवन भरतपुर महानगरपालिका १५, मंगलपुरका तीन वर्षीय बालक सलिन विक संसार नै देख्न नपाइ सधैंका लागी बिदा भए । सर्पको डसाइबाट घाइते भइ अस्पतालमा पुर्‍याउँदा चिकित्सक कै लापरबाहीले उनको ज्यान गएको पीडित पक्षधरहरूले आरोप लगाएका छन्  ।

मृतकका हजुरबुबा बलराम विकका अनुसार घाइते भएलगत्तै आफ्ना नाति सलिनलाइ पहिले भरतपुर अस्पताल ल्याइएको भए पनि त्यहाँका चिकित्सकले उनलाई आईसीयूको अभाव देखाउँदै कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा रिफर गरेको थियो । त्यहाँबाट पनि बिरामीलाई रिफर गरियो । त्यसपछि पीडित परिवारले नारायणी सामुदायिक अस्पताल, निको बाल अस्पताल , चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा पुर्‍याउँदा पुर्‍याउँदै बालकको मृत्यु नै भएको मृतकका हजुरबुबा बताउँछन् । उता, अस्पतालका चिकित्सक प्रति बिरामीसित गर्ने ब्याबहार र हुने मानवीय संम्बेदना नदेखिएको समेत प्रशासनले ठहर गरेको छ ।

कार्वाही गर्न उपभोक्ता अधिकार संरक्षण मञ्चको माग

यता, ३ बर्षे बालक सलिन बिकको उपचारमा लापरबाही गर्ने बास्तबिल चिकित्सक पत्ता लगाई छिटोभन्दा छिटो कारबाही गर्न माग गर्दै उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनले माग गरेको छ । प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउदै ‘सुगम क्षेत्रमै यस्तो घटना हुन्छ भने दुर्गमको हालत के होला ?’ कार्यवाहक अध्यक्ष विष्णु भुसालद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘मेडिकल सिटीको बाजा बजिरहेको चितवनमा यस्तो घटना हुनु खेदजनक रहेको उल्लेख गरिएको  छ ।’

उपचार गर्दा बढी जोखिम हुने बिरामीको भर्नै नलिने प्रवृत्ति हावी भएको प्रस्ट देखिएको कार्यवाहक अध्यक्ष भुसालले बताए । अस्पतालले नाफालाई मात्रै हेरेर उपचार गर्ने गरेकोले समयमै उपचार पाए बाँच्ने बिरामीले पनि उपचार नपाएको उनको भनाइ छ ।

तत्काल प्रतिविष दिइनुपर्थ्यो : डा. पाण्डे

सर्पदंशको उपचारसम्बन्धी पीएचडी गरेका डा. देवप्रसाद पाण्डेले भरतपुर अस्पतालले सर्पले टोकेको लक्ष्ण देख्नेबित्तिकै प्रतिबिष औषधि (एन्टी स्नेक भेनम) नदिएर त्रुटि गरेको बताए ।

सर्पदंशको उपचार कार्यविधिमा सर्पले टोकेको लक्ष्ण देख्ने वित्तिकै प्रतिबिष औषधि दिनुपर्ने रहेको उनको भनाइ थियो । डा. पाण्डेले भने, ‘बालकलाई भरतपुर अस्पतालमा पहिलो प्राथमिकतामा प्रतिबिष औषधि दिएर आईसीयूलाई दोस्रो प्राथमिकतामा राख्नु पथ्र्यो ।’ ‘तत्काल प्रतिबिष औषधि दिएको भए बालक बाँच्ने सम्भावना रहन्थ्यो’, उनले भने, ‘अस्पताल व्यवस्थापनले सर्पदंशको उपचार विधि नपुर्‍याएर गम्भीर लापरबाही गरेको छ ।’

केके भन्छन् त जिम्मेवार निकाय ?

यसैबीच, जिम्मेवार निकायहरूको भने जवाफ फरकफरक रहेको पाइन्छ । सर्पदंशको उपचार भरतपुर अस्पतालमै नगरी किन अन्यन्त्र पठाउनुभयो ? भन्ने प्रश्नमा अस्पतालका मेसुले आईसीयूमा बेड नरहेको र अन्य अस्पतालमा आईसीयू बेड होला भनेर राम्रो उपचारको लागि अरु अस्पताल पठाएको बताए । आईसीयूमा नराख्दा पनि उपचार हुन सक्थ्यो । अरु अस्पतालमा आईसीयू खाली र सहज होला भनेर पठाएको उनले बताए ।

भरतपुर अस्पतालभित्र पाइने ‘एन्टी स्नेक भेनम’ बिरामीसँगै पठाउनुपर्नेमा किन पठाइएन ? भन्ने अर्को प्रश्नमा अरुबेला सर्पदंशका बिरामीको उपचारको लागि एन्टी स्नेक भेनमसँगै पठाइन्थ्यो । यो पटक पठाइएन, यो गल्ती भयो भनी गल्ती समेत स्वीकार्दै  भरतपुर अस्पतालका डाक्टर बीच बालकको उपचार सम्बन्धमा सञ्चार समन्वयको अभाव रह्यो । त्यहाँ ड्युटीमा रहेका डाक्टरहरुले मेडिसिन टिमको डाक्टरहरु लाई बोलाउनुपर्ने थियो तर , बालरोग डाक्टरलाई बोलाए ।

त्यहाँ पनि हामी चुक्यौँ, जसले गर्दा बिरामीको उपचार सही समयमा हुन नपाएको बताउँदै अस्पतालका इमेर्जेन्सी इन्चार्ज, अनकल डाक्टर र ड्युटीमा रहेको मेडिकल अफिसर हरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको समेत उनले बताए । उता, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले ‘मेडिकल सिटी’ भनिने भरतपुरमा सर्पदंशको उपचार अभावमा बालकको मृत्यु हुनु यो भरतपुर अस्पतालको गम्भीर लापरबाही भएको बताए । भरतपुर अस्पताल र अन्य अस्पतालको गैरजिम्मेवारी प्रति गम्भीर ध्यानाकर्षण भएको उनको भनाइ छ ।

भरतपुर अस्पताल र संलग्न अन्य अस्पतालहरुलाई यस्तो घटना नदोहिरनको लागि निर्देशन दिएको छु । उनले भनिन् : सर्पदंश उपचारका लागि भरतपुर अस्पतालमा एउटा आईसीयू बेड रहेकोमा दुईवटा आईसीयू बेड राख्न समेत निर्देशन दिएको छु । भरतपुर अस्पताललाई बच्चाहरुको मात्र उपचार हुने पीआईसीयूको व्यवस्था गर्न भनेको छु । भरतपुर अस्पताल र अन्य अस्पतालबीच समन्वय अभाव रहेको छ । सोको लागी अन्तर अस्पताल समन्वयको कार्ययोजना बनाउँदै गरेको समेत बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार