माङसेबुङ कृषि वहुउद्देश्यीय सहकारी संस्थाको १३ औं साधारणसभा

माङसेबुङ : माङसेबुङस्थित माङ्सेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सरस्वती माध्यमिक विद्यालयको सभाहलमा भएको साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राजेन्द्रबिक्रम खजुमले गरेका थिए । साधारणसभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक दिलबीर सेर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको संस्थाका व्यवस्थापक चनबहादुर सेर्माले जानकारी दिए ।

साधारणसभामा संस्थापक अध्यक्ष सेसेहाङ फियाक र संस्थापक सचिव खडक सम्बाहाङ्फेलाई सम्मान गरिएको थियो । साथै माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने आफ्ना दुई जना शेयर सदस्यद्वय नरेन्द्रकुमार वनेमका छोरा नाम्बिनहाङ वनेम र प्रकाश साउदेनकी छोरी स्वस्तिका साउदेनलाई नगद सहित पुरस्कृत गरियो । यस्तै उत्कृष्ट बचतमा बलबहादुर साम्पाङ, उत्कृष्ट ऋण असुलीमा राधिका खातिलाई सम्मान गरिएको छ ।

माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा माङ्सेबुङ ५ का अध्यक्ष नरेन्द्रकुमार राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाले गएको आर्थिक वर्षमा १२ लाख ५१ हजार १ सय शेयर पूंजी पुर्‍याएको थियो भने चालु आव वर्षमा त्यस शेयर पूंजी ४३ लाख १४ हजार ६ सय पुर्‍याएको छ । सार्वजनिक गरिएको प्रतिवेदनमा गएको वर्षमा ८ लाख ८७ हजार ५ सय २० रुपैयाँ निक्षेप संकलन गर्‍यो भने यस वर्ष ३८ लाख ८४ हजार ५ सय ३४ रुपैयाँ फिर्ता गरेको उल्लेख छ ।

त्यसैगरी सोहि वर्ष २८ लाख ४ हजार ८ सय ४३ बचत रहेको छ भने चालु वर्ष त्यसमा वृद्धि गरी १ करोड ७५ लाख कर्जा लगानी पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष खजुमले बताए । संस्थाको आय पूँजि ७६ लाख ३ सय २८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । २ सय ७९ शेयर सदस्य रहेकोमा १ सय ५९ पुरुष १ सय ६ महिला २ संस्थागत रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार