
काठमाडौं : प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरिबी हटाइने बताएका छन् ।
शनिबार बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा अभिनन्दन तथा पुरस्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपालीलाई गरिबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकहरुको कमजोरीका कारण नेपालीहरुले यस्तो नियती भोग्नु परेको बताए । “स्रोत साधनले भरीपूर्ण रहेर पनि नेपालीहरु गरिब हुनु सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भने, “अब पाँच वर्षभित्रमा कोही पनि नेपालीले गरिब हुनु पर्दैन ।”
प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताए । “कतिपय मानिसहरु देश बनेन भनेर होइन देश बन्ला भनेर पिरोलिएका छन्” प्रधानमन्त्री ओलीले भने, “तर अब कोही पिरोलिएर देश नबन्ने होइन । बहुतै दृढताका साथ देशमा परिवर्तन ल्याउने काम हुन्छ ।”
सरकार भ्रष्टाचार न्यूनिकरणमा प्रतिवद्ध भएको प्रधानमन्त्री ओलीको भनाई थियो । यो सरकार सुविधा उपभोग गर्न वा आफू बन्नका लागि गठन भएको नभई देश निर्माणका लागि गठन भएकोले यो आफ्नो लक्ष्यमा अविचलित रहने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
कार्यक्रममा ओली वंशका तर्फबाट प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका पिता मोहनप्रसाद ओलीलाई अभिनन्दन गरिएको थियो ।





















































