चितवन : चितवनको नारायणगढ-मुग्लीङ्ग सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिकास्थित वर्डा नम्बर २९ को त्रिशुली नदीमा अबैध रुपमा ढुङ्गा गिट्टी र बालुवाको उत्खनन् गर्ने कार्य ब्यापक मात्रमा भईरहेको पाईएको छ ।
सडक बनाउने ठेक्का लिईएका रौता र लामा कन्ट्रक्सन का ठेकदार कम्पनीकै नाममा जथाभावी रूपमा उत्खनन् र तस्करी भईरहेको पाइएको हो । सडक निर्माण सम्पन्न भईसकेको अवस्थामा समेत हाल सो सडकको तलपट्टीको त्रिशुलीमा अबैध रुपमा क्रसर उधोग नै सञ्चालनमा ल्याईएको छ । सो क्रसर उधोगले बाताबरणीय प्रतिबेदन बिना नै नदीमा चेन स्काभेटर, जेभिसी लगायतका नदी उत्खननमा प्रयोग हुने उपकरणहरु प्रयोग गरी अबैध उत्खनन् र तस्करी भइरहेको छ ।
सडक निर्माणको क्रममा सडकलाई आवश्यक सामाग्री उत्पादन गर्ने गरी सो क्रसर सञ्चालनमा आएको भएपनि सडक सम्पन्न भईसकेको महिनौं भईसक्दा पनि ठेकेदार कम्पनीले अबैध रुपमा नदीजन्य पदार्थको दोहन गरिरहेको छ ।
नारायणगढ-मुग्लीङ्ग सडकखण्ड निमार्ण आयोजनाका एक ईन्जीनियरका अनुसार निर्माण सम्पन्न भईसकेको अवस्थामा उत्खनन् र ओसारपोसार गर्नु/गराउनु एक प्रकारको तस्करी नै भएकाले त्यो क्रसर उधोग बन्द गराउनुपर्ने उनको गुनासो थियो । उनका अनुसार सो क्रसर उधोग र अबैध उत्खनन्को विषयमा आयोजनाका तर्फबाट यस अघि नै पटकपटक प्रशासन र प्रहरीलाई खबर गरेपनि राजनीतीक पँहुच र मिलेमतोमै अबैध उत्खनन् भएकोले रोक्न नसकेको स्रोतले बताएको छ ।
राप्रापाका कार्यकर्ता समेत रहेका सो क्रसरका सञ्चालक बलराम खनालले पुर्ब बनमन्त्री समेत रहेका राप्रापाका तत्कालिन महामन्त्री बिक्रम पाण्डेको आशिर्वादमा सो क्रसर सञ्चालन गरेको स्रोतले जनाएको हो । स्रोतअनुसार कम्पनीमा दर्ता लगायतका सामान्य कागजपत्र पेश गरी नियामक निकायको आँखामा धुलो हाल्दै अबैध रुपमा क्रसर सञ्चालन गर्ने खनालले कतिपय राजनितीक र प्रशासनिक पदमा आसिन ब्यक्तिहरुलाई समेत आर्थिक प्रलोभनमा पारी प्राकृतीक सम्पदाको मनलाग्दी दोहोन गरेको आरोप समेत लगाइएको छ ।
उता, अबैध क्रसर सञ्चालन भएको सुचनाको आधारमा त्यस स्थलमा पुग्दा त्रिशुली नदीको भोर्ले भन्ने स्थानमा मनलाग्दी त्रिशुली नदीबाट नदीजन्य पदार्थको ब्यापक मात्रमा उत्खनन् र ओसारपोसार भईरहेको पाईएको थियो । सो क्रममा त्यस स्थानमा रहेको क्रसर उधोगका महेश रेग्मी लगायतका कर्मचारी सँग क्रसर उधोग सञ्चालनको अनुमतिपत्र देखाउन अनुरोध गर्दा उनीहरुले देखाउन सकेनन् । सो उद्योगका सञ्चालक बलराम खनालसँग कागजपत्र रहेको भन्दै टारेका थिए भने, सञ्चालक खनाल सँग सम्पर्क गर्दा उनले आफुसँग कागजपत्र रहेको जिकीर गरेका थिए ।
यद्यपि, सो कागजपत्र देखाउन माग गर्दा उनले कुनै कागजपत्र उपलब्ध गराउन सकेनन् । उल्टै बलराम खनालका छोरा रविन्द्र खनालले विना अनुमती क्रसर उद्योगको फोटो लिएकाले मुद्दा हालिदिने सम्मको चेतावनीसमेत दिइएको थियो । यसरी त्रिशुली नदीमा क्रसर उधोग सञ्चालन गर्ने बलराम खनालले कागजपत्र देखाउन आलटाल गर्नुले कतैं हामीलाई प्राप्त सुचना अनुरुप त्यो क्रसर उद्यौग अबैध त होईन ? भन्ने गम्भीर आंशका पैदा भएको छ ।
पूर्वी चितवनमा पनि उस्तै !
यसैबीच, नदीजन्य पर्दार्थको उत्खनन हुने कार्यले पुर्वी चितवनमा समेत छाएको छ । यहाँको दुई स्थानहरूबाट अवैध रुपमा ढुंगा, गिट्टी, बालुवाको उत्खनन हुने गरेको हो । रत्ननगर र खैरहनीको सिमानाबाट बग्ने कयर खोलाबाट अवैधरुपमा गिट्टी, बालुवा उत्खनन हुने गरेको पाइएको छ । खुल्लारुपमा गिट्टी, बालुवा उत्खनन हुँदासमेत नगरपालिका र प्रशासनले भने त्यसलाई रोक्न सकिरहेका छैनन् । यहाँको पिठुवा र खैरहनीको चैनपुरका स्थानीय युवाहरुले रातारात खोलाबाट गिट्टी, बालुवा उत्खनन गर्ने गरेका छन् ।
जिल्ला समन्वय समितीले ढुंगा, गिट्टी, बालुवा निकासी गर्न रोक लगाएको समयमा पनि अवैधरुपमा प्राकृतिक सम्पदाको दोहन गरिएको भन्दै स्थानीयवासीले त्यसको विरोध गरेका छन् । समन्वय समितीले असार, साउन, भदौ र असोज चार महिना खोलाबाट गिट्टी, बालुवा निकासीमा रोक लगाउँदै आएको छ ।
राती १२ बजेदेखि बिहान ९ बजेसम्म खोलाबाट गिट्टी, बालुवा निकासी हुने गरेको रत्ननगर नगरपालिका वडा नं १४ का वडा अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । यहाँ दैनिक १०० टिपभन्दा बढी गिट्टी, बालुवा अवैधरुपमा निकासी हुँदै आएको भन्दै नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय टाँडीलाई पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरिएको उनले बताए । ‘हाम्रै आँखा अगाडी प्राकृतिक सम्पदाको दोहन भएको छ’, उनले भने, ‘हामीले भनेको कसैले टेर्दैन, प्रहरीलाई भने पनि हाम्रो कुरा सुन्दैन ।
रत्ननगरको वडा नं १४, १६ र खैरहनीको १, २ र ४ को सिमानामा करिब ७ किलोमिटर खोलाबाट अवैधरुपमा गिट्टी, बालुवा निकासी भइरहेको छ । ‘गुन्डागर्दी शैलीमा काम भएको छ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘नगर्नुहोस् भन्दा पिट्न आउलान् जस्तो गर्छन् ।’ कयर खोलाबाट गिट्टी, बालुवा चोरी भइरहँदा पिठुवा र चैनपुरका सडकहरुमा ग्राबेल हाल्न नपाएर खाल्डाखुल्डी परेका छन् । जिल्ला समन्वय समितीले गिट्टी, बालुवा निकासी बन्द गरेका कारण नगरपालिकाले सडक मर्मत समेत गर्न पाएका छैनन् ।
‘नगरपालिकाले जीर्ण सडकमा ग्राबेल समेत हाल्न पाएको छैन’, वडा नं १६ का अध्यक्ष हेमराज थापाले भने, ‘हाम्रै खोलाहरुबाट रातारात गिट्टी, बालुवा चोरी भइरहेको छ । गिट्टी, बालुवा निकासी बन्द भएका बेला धेरै पैसामा बिक्री गर्न प्रशासनको मिलेमतोमा ठेकेदारहरुले रातारात गिट्टी, बालुवा निकासी गर्दै आएको स्थानीयवासीले आरोप लगाएका छन् ।
इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधि ज्ञवालीले राजनीतिक दबाबका कारण कयर खोलाको अवैध उत्खनन रोक्न नसकिएको बताए ।‘ट्रयाक्टर समात्न नपाउँदै फोन आउन सुरू हुन्छ’, उनले भने, ‘अनि कसरी नियन्त्रण गर्न सकिन्छ ?’ डिएसपी ज्ञवालीले वडाध्यक्षहरुलाई ट्रयाक्टरको चाबी खोसेर प्रहरीलाई खबर गर्न आग्रह गरेको बताए । उनले अवैध उत्खनन रोक्न खोलामै नियमित प्रहरी परिचालन गरिसकेको जानकारी दिए । ‘ट्रयाक्टर र चालक ल्याएर मुद्दा चलाउँछु’, उनले भने, ‘अब चुप लागेर बस्दिनँ ।’
अवैध उत्खनन रोक्ने सहमती ।
यता, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाका मेयरहरुले कयर खोलामा भएको अवैध उत्खनन तत्काल रोक्ने सहमती गरेका छन् । रत्ननगरमा भएको छलफलपछि रत्ननगर नगरपालिकाका मेयर नारायण वन र खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले कयर खोलामा भएको गिट्टी, बालुवाको अवैध उत्खनन मिलेर रोक्ने सहमती गरेका हुन् । प्रहरी, नगरपालिका र सामाजिक संघसंस्थाको सहकार्यमा उत्खनन रोक्ने र केही समयपछि गिट्टी, बालुवा निकासीका लागि जिल्ला समन्वय समितीको सहकार्यमा खोला खुल्ला गर्ने दुई नगरपालिका बीच सहमति भएको रत्ननगर नगरपालिकाका मेयर वनले जानकारी दिए । आफ्नै आँखाअगाडि प्राकृतिक सम्पदाको दोहन भइरहेको भन्दै उनले अवैध उत्खनन गर्नेलाई कार्वाही गर्ने बताए ।
नदीजन्य पदार्थ उत्खननमा सँलग्न ८ ट्याक्टर प्रहरी नियन्त्रणमा
यसैबीच, पूर्वी चितवनको कयर खोलाबाट नदीजन्य पदार्थ उत्खननमा सँलग्न रहेका ८ वटा ट्याक्टरलाई रत्ननगर प्रहरीले नियन्त्रणमा लिएको छ । खैरहनी र रत्ननगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन कार्यमा कडाई गर्ने निर्णय गरेको भोलिपल्ट बुधवार उत्खननमा सँलग्न ८ वटा ट्याक्टर नियन्त्रणमा लिईएको हो ।
इलाका प्रहरी कार्यालय टाँडीले ६ वटा र इलाका प्रहरी कार्यालय खैरहनीले २ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दयानिधी ज्ञवालीका अनुसार ना ३ त ८२६, ना ६ त ६९७७, ना ४ त ७४२९, ना २ त ७९१९, ना ३ त ३४२५ र ना ५ त ६९९६ नम्वरको ट्याक्टर नियन्त्रणमा लिईएको हो ।
उता, इलाका प्रहरी कार्यालय खैरहनीले पनि कयर खोलाबाट २ वटा ट्याक्टर नियन्त्रणमा लिएको जनाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार ना ३ त २०४ र ना ३ त ७१० नम्वरको ट्याक्टरलाई नियन्त्रणमा लिईएको हो । खैरहनी नगरपालिका १ का वडाध्यक्ष भुमीप्रसाद कडेंलको सुचनाको आधारमा ती ट्याक्टरहरुलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक विष्टले बताए ।