झारफुको बहानामा बलात्कार

  नयाँ बुलन्द
0 Shares

बाँके : बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनी बलात्कार गरेको घटनाले चरमरूप लिइरहेको वेला नेपालगञ्जको गणेशपुरमा साईबाबा भनिने एक व्यक्तिले १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

केहि समय अघिदेखि विरामी परेकी बालिकालाई झारफुक गर्न आएका वेला साइबाबा भनिने ती व्यक्तिले उनीमाथि बलात्कार गरेको बुझिएको पीडित बालिकाका आफन्तले बताएका छन् ।

झारफुक गर्ने क्रममा ती साइबाबाले वैशाखदेखि नै आफूमाथि बलात्कार गर्दै आएको र बाहिर कसैसँग कुरा गरे जे पनि हुनसक्ने धम्की दिएका कारण आफूले कसैलाई पीडा भन्न नसकेको बलात्कृत बालिकाले प्रहरीसमक्ष बताएको आफन्तले जनाएका छन् ।

बिहीबार दिउँसो १ बजेतिर बालिकाको योनीबाट धेरै रक्तस्राव भएपछि बालिकाले आफ्नी आमालाई सबै कुरा बताएकी थिइन् । आमाले थाहा पाएपछि घटना बाहिर आएको पीडित बालिकाका काकाले जानकारी दिए ।

घटना थाहा पाएलगत्तै उनका काकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबाबा भनिने ती व्यक्तिको नाममा किटानी जाहेरी दिएका छन् । किटानी जाहेरी परेपछि बाँके प्रहरीले साइबाबा भनिने ती व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ती व्यक्तिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । १५ वर्षीय ती बालिकाको बिहीबार भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचार भएको छ भने उनको पेटमा गर्भ भए नभएको बारे रिपोर्ट आउन बाँकी रहेको पीडितका आफन्तहरूले बताएका छन् ।

ती साइबाबाले पटक–पटकको बलात्कारपछि बिहीबार गर्भपतन गराउनेसम्बन्धी औषधीसमेत खुवाएको प्रहरीसमक्ष पीडित बालिकाले वयान दिएका छन् ।

४६ वर्षीय साइबाबा भनिने ती व्यक्ति विगत केही समयदेखि गणेशपुरमा ज्योतिषीको काम गर्दै आएका थिए । देशभरमा दिनहुँजसो बलात्कारका घटना घटिरहँदा बाँके जिल्लामा पनि एकसातामै दुईवटा यस्ता घटना भएका छन् ।

नातिनी बलात्कारको घटनाले कोहलपुरमा आन्दोलन भइरहेका वेला नेपालगञ्जमा फेरी भएको यो घटनाले महिला तथा बालिकाहरू असुरक्षित बनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार