इलाम नगरपालिका बन्यो शतप्रतिशत विद्यार्थी भर्ना नगर

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम नगरपालिका शतप्रतिशत विद्यालय भर्ना नगरपालिका घोषणा भएको छ । जिल्लाको सबैभन्दा पुरानो इलाम नगरपालिका शनिबार जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी भर्ना स्थानीय तह घोषणा भएको हो ।

नगरपालिकाको १२ वटै वडाका सबै विद्यालयमा विद्यालय उमेर समूहका बालबालिका विद्यालय भर्ना भएपछि भर्नायुक्त नगर घोष्णा गरिएको नगर प्रमुख महेश बस्नेतले बताए । ‘नगरको सबै क्षेत्रमा दलित, बिपन्न रहेको अन्य टोलमा स्थलगत अनुगमन गर्दा कुनैपनि वडाको टोल–टोलमा विद्यालय भर्ना हुनबाट विद्यार्थी वञ्चित नरहेको पाइयो’ बस्नेतले भने ‘५ देखि १२ वर्ष उमेर समूहका बालबालिका सबै विद्यालयमा भर्ना भइसकेकाले शतप्रतिशत विद्यार्थी भर्नायुक्त नगर घोषणा गरेका हौं ।’

इलाम नगरपालिकामा ५४ वटा सामुदायिक विद्यालय रहेका छन् । त्यसमध्ये आधारभूत तह कक्षा १ देखि ५ सम्मको ३१, आधारभूत तह कक्षा ६ देखि ८ सम्मको १०, माध्यमिक तह कक्षा ९ देखि १० सम्मको १३ वटा विद्यालय छन् । सबै तहमा ५ हजार ३१ जना विद्यार्थी भर्ना भएका छन् । जसमध्ये २ हजार ४ सय २३ जना छात्र र २ हजार ६ सय ८ जना छात्रा रहेका छन् । जम्मा विद्यार्थीमध्ये दलित ५ सय ११ जना र गैर दलित ४ हजार ५ सय २० जना रहेको शिक्षा विकास तथा समन्वय एकाई इलामको तथ्याङ्कमा उल्लेख छ ।

इलाम नगरपालिकालाई शतप्रतिशत विद्यालय भर्ना नगरपालिका घोषणा गरीरहँदा नगरमा विद्यार्थीको कक्षा छोड्ने र कक्षा दोहोर्याउनेको सङ्ख्या पनि उच्च छ । आधारभूत कक्षा तह कक्षा १ देखि ५ मा ५ दशमलव ६ प्रतिशत कक्षा छाड्ने छ भने ५ दशमलव २ प्रतिशत कक्षा दोहोर्याउने छ । कक्षा ६ देखि ८ मा ७ दशमलव ३ प्रतिशत कक्षा छाड्ने र ४ दशमलव ९ प्रतिशत कक्षा दोहोर्याउने छ । माध्यमकि तह कक्षा ९ र १० मा ३ दशमलव २ प्रतिशत कक्षा छाड्नेदर छ भने १ दशमलव ३ प्रतिशत कक्षा दोहोरयाउनेदर तथ्याङ्कले देखाएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख होमनाथ भण्डारीले इलाम नगरको सम्पूर्ण वडामा स्थलगत अनुगमन गर्दा शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको र कुनैपनि बालबालिका विद्यालय बाहिर नरहेकोले अब उनीहरुमा पठन संस्कृतिको विकास र बिद्यालयमा टिकाइराख्ने किसिमको शिक्षा दिनु जरुरी रहेको बताए । इलाम नगरपालिका नगरकार्यपालिकाले शतप्रतिशत विद्यालय भर्ना नगरपालिका घोषणा गर्न कार्यक्रमै गरेको थियो । सोहि अवसरमा शैक्षिक सम्मेलन समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार