
इलाम : २०७४ को माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट दुई जना विद्यार्थीलाई लिम्बू विद्यार्थी मञ्च इलामले सम्मान गरेको छ । शनिबार इलाममा लिम्बू विद्यार्थी मञ्च इलामद्वारा आयोजित ‘एक हप्ते किरात सिरिजङ्गा लिपि तथा लिम्बू भाषा प्रशिक्षण’ तालिमको समापनका अवसरमा सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट जितपुर माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण पार्वता लिम्बू (३ दशमलव २५ जीपीए) र संस्थागत विद्यालयतर्फ उत्कृष्ट नतिजा प्राप्त समता शिक्षा निकेतन बोर्डिङ स्कूलका हेन्जिला थेबे (३ दशमलव ८ जीपीए) रहेका छन् । उनीहरुलाई जनही नगर ५ हजार रुपैयाँ र कदरपत्र प्रदान गरिरएको छ । त्यसैगरी उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै जितपुर मावि र समतालाई प्रसशांपत्र प्रदान गरिएको थियो ।
सम्मानित विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथी लिम्बू विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष फिपराज बेघाले खादा तथा अविरसहित सम्मानपत्र वितरण गरेर सम्मान गरेका थिए ।
यसैबीच ‘किरात सिरिजङ्गा लिपी तथा लिम्बू भाषा प्रशिक्षण’ समापन गरिएको छ । प्रशिक्षका सहभागीहरुलाई सुनिल सेर्माले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा गैरलिम्बू सहित ५७ जनाको सहभागिता रहेको थियो ।
लिम्बू विद्यार्थी मञ्च इलामका अध्यक्ष अतित योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष फिपराज वेघा, किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष यामप्रसाद लिम्बू, सल्लाहकार मोहनसिंह थेवे, जितपुर माविका शिक्षक छत्र योङहाङ, केन्द्रीय सदस्य राम लिङ्दम, प्रशिक्षक सुनिल सेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





























































