चितवन : रत्ननगर नगरपालिकाले प्रविधिको प्रयोग वढाउने क्रममा मोबाईल एप्लिकेशनको सुरुवात गरेको छ । मोबाईल एप्लिकेशनको प्रदेशसभा सदस्य कृष्ण खनालले शुभारम्भ गरेका हुन् । सो अवसरमा प्रदेश सभा सांसद खनालले प्रविधिको विकासले आम जनताले नगरपालिकाबाट भए गरेका कार्यसम्पादन लगायतका काम हेर्न सक्ने भएकाले नगरको विकासमा यो प्रविधिले टेवा पुग्ने बताए ।
एप्लीकेशन मार्फत नगर भित्रका विभिन्न ४० वटा फिचर मार्फत सेवा प्रवाहका बारे सर्वसाधारणले जानकारी लिन सक्नेछन् । त्यहाँबाट नगरका प्रमुख, उपप्रमुख सहित कर्मचारीहरु को कहाँ छन् भन्ने बारे जानकारी लिन सकिन्छ भने कार्यसम्पादन लगायत विषयमा उजुरी गुनासाहरु समेत पठाउन मिल्ने व्यवस्था मिलाईएको छ ।
सो एप्लीकेशन मार्फत पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, कला संस्कृति, सूचना तथा वार्षिक कार्यक्रम, मासिक आम्दानी, फोहोर मैला संकलन तालिका, उजुरी, गुनासा, गृह नक्सापास, सामाजिक सुरक्षा आदि हेर्न सकिनुका साथै नक्सा पासका लागि घरबाटै आवेदन दिन सकिने नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए । यसअघि रत्ननगरले प्रविधिको प्रयोगलाई जोड्ने क्रममा विद्युतिय हाजिरी, शिशु नर्सरीका विद्यार्थीका लागि टिभी वितरण, अनलाईन मार्फत नक्सापास, अनलाईन घटना दर्ताको काम गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगानाले बताए ।
मोबाईल एप्लिकेशन सुभारम्भका क्रममा नगरपालिकाका आईटी अधिकृत रवि तिवारीले एप्लिकेशनका बारेमा जानकारी गराएका थिए । नगरप्रमुख नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, नेकपाका नेताहरु रामशरण कुँवर, राजु अम्गाँईं, इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी दयानिधी ज्ञवाली, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु, नगरवासी ,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।