नाम मात्रको बन्दैछ ‘गिद्धेभीर’

  गोबिन्द पौडेल
0 Shares

रोङ : कुनैबेला अत्याधिक मात्रामा गिद्ध पाइने गिद्धेभीर अहिले गिद्धविहिन बनेको छ । आहाराको कमी र मानवीय क्रियाकलापले जंगल अतिक्रममा पर्दै गएको कारण गिद्धे भीरपनि नाम मात्रको गीद्धेभीर बन्दै गएको छ ।

रोङ गाउँपालिका वडा नम्बर ५ जिर्मलेको सलकपुर गाजले डाडा, धजे, काउले डाँडा पाथीभरा मन्दिरको उत्तरपट्टि रहेको अनाकन्टर पहरोलाई गिद्धे पहरा भनिन्छ । प्राकृतिको कुचीकारू भनेर चिनिने गिद्धले मरेको जनावरहरुको सिनो खाएर वातावरणलाई स्वच्छ राख्ने गर्दछ ।

करिव एक दशकअघि पंक्षी संरक्षण नेपाल वीसीएन (वर्ड कन्जरभेसन नेपाल) को सहयोग गोल्डेन भ्याली युथ क्लबको सहयोगमा गरिएको सर्भेक्षण अनुसनर भुटान, आसाम दाजिलिङ्ग र इलामको गिद्धेभीर हुँदै कोशी टप्पु हँदै नवलपरासीको कावासोतीसम्म गिद्धको करिडोर रहेको र गिद्धेभीर आसपासमा प्रशस्त मात्रामा गिद्ध पाइने देखिएको थियो ।

गिद्धहरु फिरन्ते रुपमा आउने बस्ने गरेको तर केही दिन बसेपनि स्थायी बसोबास नभएको र यिनीहरुको गँुड र बच्चा कोरल्ने स्थान यो नभएको सर्भेक्षणको क्रममा खुलेको गोल्डेन भ्यालीको अध्यक्ष कुमार मोक्तानले बताए ।

गिद्धको विनास हुनुको मुख्य कारणमा वन विनास र डढेलो साथै गाईवस्तुको चरण घट्दै जानु, सीमावर्ती क्षेत्रमा गाईवस्तु भारतीय बजारमा बेचिने भएको कारण गिद्धको आहाराको कमी र किसानहरुले पशु चौपायमा ‘डाइकोफेनट’ नामक औषधिको प्रयोग भएको लगायत रहेका छन् ।

‘डाइकोफेनट’ औषधि प्रयोग गरेको सिनो गिद्धहरुले खाएमा गिद्धको मृत्यु हुने भएको कारण गिद्धको संख्या घटेको वीसीएनले गरेको अध्ययनमा उल्लेख छ । तत्कालीन समयमा इलामका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको सहयोगमा इलामको हर्कटेदेखि बिब्ल्याँलाटे सम्मका भेटनेरीहरुको अनुगमन गर्दा उक्त विषादी ६३ प्रतिसत पाइएको थियो । तर अहिले भने सो औषधि प्रतिबन्धित छ ।

वर्षमा एउटामात्र अण्डा पार्ने, संरक्षणमा खासै चासो नदिएको गिद्धको विभिन्न प्रजातिहरु रहेपनि यस करिडोरमा खैरो डंगार गिद्ध, रेड हेड (रातो टाउके) र हाडफोर प्रजातिका गिद्धहरु गिद्धेभीरमा पाइने गरेको थियो ।

गिद्ध संरक्षण गर्न नवलपरासीको कावासोतीमा भने गिद्ध रेस्टुरेन्ट नै बनाएर संरक्षण गरिदै आएको छ । अहिले पनि हिउँदको समयमा हुलका हुल गिद्ध आउने गरेको इलामको गिद्धेभीरलाई पनि सोही अनुसार संरक्षण गरेर गिद्धहरुको आहारा वयवस्थापन गर्न सके पर्यटन वयवसायको लागि थप गन्तवय र विषय थप्न सकिने सम्भावना रहेको अध्ययनमा संलग्न रहेका मध्येका एक कुमार मोक्तानको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार