युवाहरु किन विदेश मोहमा ?

  कुबेर निरौला
21 Shares

कुवेर निरौला, इलाम

नेपाली युवाहरु दिनानुदिन हजारौंको संख्यामा खासगरी खाडी मुलुकतिर रोजगारीका खातिर विदेश मोहमा पल्किएका छन्, किन होला ? सजिलो उत्तर छ, नेपालमा भनेजस्तो काम र दाम छैन । तसर्थ ऋण काढेर भएपनि खाडी मुलुकतिर हानिन्न कम्मर नै कसेर नेपाली युवाहरु लागिपरेका छन् । गाउँका युवाहरु विदेसिनाले गाउँमा डाडाँपारीका घाम झैं लाग्ने वृद्धवृद्धाहरु छोरा नातिलाई पर्खिएर सुस्ताई रहेकाछन् यतिखेर । युवाहरुको रोजगारकै लागि भनेर भएको टारबारी, सिमखेत नभए लैनुभैंसी होस् या माउगाई बेचेर अर्थात चर्को ब्याजमा साहु काढेर भएपनि जानि नजानि विदेशमा पसिना बगाएर बल र बैंश उत्तै रित्याएर अलिअलि जोरजाम गरेर या रित्तो हात त, या बाकसमा बन्द भएर आफन्तको आँखामा आँशु अनि छातिमा भक्कानु भएर स्वदेश फर्काईएको प्रशस्तै यथार्थहरु हाम्रा सामु छन् । वास्तवमा यो हामी नेपालीका लागि अति नै पीडादायक स्थिति हो ।

किन यसो हुन्छ र भई नै रहेको पनि छ त ? यसतर्फ सरकारले समयमा नै ध्यान दिन सकेन भने यो अवस्थाले युवाविहीन मुलुक नेपाल हुन सक्दछ नभन्न सकिदंैन । हरेक देशको विकास र समृद्धिका लागि अवश्य पनि युवा शक्तिको महत्वपूर्ण भूमिका रहन्छ नै । मुलुकको सबै प्रकारका विकासका प्रक्रियामा युवाले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् । उमेर र उनीहरुले गर्ने कामका आधारमा हेर्दा युवा उमेर जीवनको सबैभन्दा उर्जाशील र महत्वपूर्ण समय हो । यूवा शक्तिलाई राष्ट्रका मेरुदण्ड र परिवर्तका संवाहक पनि भनिन्छ । तर हाम्रा युवाहरु भने अर्काको मुलुक बनाउनतिर मरिहत्ते गरेर विदेश पलायन भईरहेका छन् । यो पलायनलाई नीजि क्षेत्रबाट होस् या सरकारी क्षेत्रबाट होस्, अवश्य पनि रोक्ने उपाय सोच्नै पर्दछ । नत्र भने अशक्त हजुरबा हजुरआमा मात्रको वासस्थान बन्न सक्दछ हाम्रो राष्ट्र नेपाल ।

युवा शक्ति राष्ट्रको महत्वपूर्ण सम्पति शक्ति हो । अन्य विकासन्मुख मुलुकहरुमा जस्तै नेपालमा पनि युवाहरुको अवस्था अवश्य पनि सन्तोषजनक छैन । त्यहि असन्तोषका कारण नै हाम्रा युवाहरु विदेश मोहमा फसेका हुन् । किनभने यहाँ चाहे जस्तो काम र दाम पाउन सकेका पनि छैनन् । हामी युवाहरुलाई जानेको, सिकेको र भएको काम गर्नलाई संकोचसँगै लाज पनि लाग्दछ । तर विदेशमा भने जस्तो पायो त्यस्तै अर्थात जहाँ मोटो रकम हात पर्दछ, त्यो काम गर्न कति पनि संकोच छैन । कसैले या आफन्तहरुले के काम गरिन्छ हौ उतातिर, भनेर सोधिहाल्यो भने त्यस्तै सानोतीनो काम गरिन्छ भनेर टारिदिन्छन् ।

गाउँमा घरमा उमेर पुगेको छोरो त्यतिकै बसिराख्या छ भने त्यो युवक नामर्द र नालायक कहलिन्छ र विदेश जान नसक्ने हुत्तिहारा ठहन्छि । र पनि युवाहरुको विदेश जानका लागि होडबाजि नै चल्दछ । नेपाली युवाहरु हरेक वर्ष ठूलो संख्यामा राजगारीका खोजिमा श्रमबजारमा प्रवेश गरिरहेका छन् । यो मुलुकका लागि ज्यादै नै चुनौतिको विषय हो । सरकारी तथ्याङ्कलाई मान्दा पनि वर्तमान अवस्थामा सरदर एक हजार पाँच सयको संख्यामा नेपाली युवाहरु औपचारिक रुपमा विदेश जाने गरेको पाईन्छ । एकातिर युवाहरु यसरी रोजगारीको खोजिमा अधिक मात्रामा श्रमशक्तिको पलायन भएको छ भने, अर्कोतिर श्रम शक्तिकै अभावमा हाम्रा गाउँघरका खेतबारीहरु बाँझै पल्टिएका छन् । श्रमशक्तिकै अभावले उत्पादनमा कमि आएकै कारण पनि भोकमरीको समस्या त्यतिकै टड्कारो छ । सरकारले अब युवाहरुलाई मुलुकमा नै राख्नका लागि सीप र क्षमता अनुसारको काम दिएर राख्नका लागि अवश्य पनि योजना बनाई समय र आवश्यकता अनुसारको काममा लगाई देशलाई उन्नतितिर लानका लागि विलम्ब गर्नु भएन । गाउँमा युवाहरु भेटिदंैनन्, जन्ति र मलामीको खाँचो खड्किएको छ । केटाकेटी र पाका उमेरका असक्तहरुको जमात मात्र मौजुदा छ । साथसाथै यसबाट पर्न गएको सामाजिक तथा साँस्कृतिक क्षति पनि त्यतिकै खस्कँदो छ । यसको लेखाजोखा कसले गर्ने त अब ???

हामीले आफ्नै देशमा पनि सुन्दर भविष्य बनाउन सकिन्छ भनेर सहज र सरल योजना पनि दिन सकिरहेका छैनौ । युवा जमात शिक्षित, अशिक्षित, अर्धशिक्षित, सीप सिकेका हुने् या नसिकेका हन् जो सुकैको पनि रोजाई किन विदेश नै हुन्छ ? अब भने कतिपनि विलम्ब नगरिकन युवाको आकर्षणको केन्द्र हुने खालको व्यवहारिक योजना ल्याई हाम्रा युवाहरुलाई काम दिन सकियो भने मात्र हाम्रो देश उँभो लाग्दछ । हामीले युवा जोश र जाँगरलाई सकारात्मक दिशातर्फ अग्रसर गराउन अवश्य लाग्नुपर्दछ ।

तर हाम्रा नेतागणहरुको सोचाई यस बेला मुलुकका युवाका खातिर नभएर सत्ता र भत्ताका खातिर अग्रसर भईरहेको पाईन्छ । राजनैतीक अस्थिरता जस्ताको त्यस्तै नै छ । महंगीले आकाश भेट्न लाग्या छ, असुरक्षा बढ्दो गतिमा लम्किरहेको छ, भ्रष्टचार मौलाउँदो छ, युवाका हातमा काम छैन, भएपनि आफ्नो देशमा काम गर्न युवाहरुलाई जाँगर आउँदैन । किनकी मन, मष्तिष्क खाडि मुलुकतिरको सुन्दर सपना बुनिरहेछ । अनि किन युवाविहीन नबनोस् त हाम्रा गाउँघर । बिचरा हाम्रा पूर्खाले आर्जिएको टारीखेत, बाँझै पल्टिएको टारबारी अनि ति पाखापखेराहरु जाँगर नपाएर थारै पल्टिएका छन् । धर्तीले जाँगर खोजिरहेका छन्, तर जाँगरहरु सबै विदेश भासियर विदेशमा नै युवा जोश र जाँगरहरु पसिनाका थोपा थोपामा परिणत हुँदै रगत बगाईरहेका छन् । हाम्रा युवाहरु बाध्यताले भन्दै विदेशिको नोकर साबित भईरहेका छन् ।

सुन्दर र समृद्ध नेपाल निर्माणका लागि युवाहरुलाई विदेश जानबाट अवश्य रोक्न सक्नु पर्दछ । देशमा सृजना भएको बेरोजगारी समस्यालाई सम्बोधन गर्न अति नै जरुरी भएको छ । हरेक वर्ष विदेश मोहमा परि विदेमा पलायन हुँदै जाने युवाहरुलाई चुनौति नभएर अवसरका रुपमा लिएर राष्ट्र निर्माणको अभियानमा होमिन आवश्यक भएको छ । आर्थिक उत्पादनको मुख्य क्षेत्रका रुपमा रहेको कृषि पेशामा लागेका अधिकांश मानिसहरुको आम्दानी बढ्न सकिरहेको पनि छैन । आर्थिक उन्नतिको मेरुदण्डको रुपमा रहेको कृषिमा नयाँ पुस्तालाई आकर्षित गर्न सकेमा पनि भविष्यका दिनमा भोकमरीको समस्यालाई कम गर्न सकिन्थ्यो । युवाहरुलाई सीप र क्षमतामा विकास गरि सीप र क्षमता अनुसारको काममा युवालाई रोजगारी दिलाई उनीहरुका लागि दीगो र सुन्दर भविष्यको निश्चित गर्नुपर्ने भएको छ । नत्र भने हाम्रो देश कदापी विकासतिर अग्रसर हुन सक्दैन ।

नेपाली युवाजमात विदेश पलायन हुनमा हाम्रो शिक्षामा सिकाई अव्यवहारिक शिक्षानीति अर्थात व्यवसायिक शिक्षा नहुनु पनि एक कारक तत्व हो । किनभने शिक्षाले यो काम यसरि गर भनेर हामीलाई सीप दिन सकेन र सानातिना मसिना सिप सिकेर जानि नजानि हामी विदेसिन्छौ । नजानेकै कारण पनि विदेशमा दलिन्छौ अनि भाँती पुगेन भने बाकसमा बन्द भएर भित्रिन्छौ । ऋणमा पनि डुब्छौं, खेतबारी अर्काले खान्छ, बस हात लाग्यो आखिरमा शून्य ।

अर्को बिडम्बना के छ भने, विदेशबाट पैसा कमाएर ल्याइहालियो भने पनि पहिले घर बनाउनेतिर लाग्छौ, त्यसको सट्टामा कुनै उद्योगधन्दा संचालन गर्नमा र अरुलाई पनि रोजगारी दिलाउन पट्टि हाम्रो सोचाई पनि हँदैन । त्यसैले पनि हामी झन् बेरोजगारी बनिरहेका छौं । अर्काले जे गरेको छ, हामी त्यहि नै गछौं । अनि नयाँ व्यवसायको थालनी नगरि पछि पर्दैछौं पनि ।

देश बनाउनका लागि हामी सबैको उत्तिकै दायित्व हो भन्ने धारणाको विकास हुन सकिरहेको छैन । त्यसले पनि हामी पछि परिरहेका छौं । देशमा नै बसेर केहि गरौं भन्ने भावनाको विकास गराउन पनि सकिरहेका छैनांै । यदि यसैगरि रोजगारीका लागि विदेशिनेको संख्या कम गर्न देशमा नै रोजगारीको अवसर सिर्जना गर्न सकिएन भने यो मुलुक वालक, वृद्ध र अशक्तको मात्र बसोबास भएको देश नहोला भन्न सकिदैन । तसर्त देशको दीगो विकासका लागि हाम्रा युवाशक्तिलाई क्षणिक फाईदाका लागि विदेश पठाउनु भन्दा त आफ्नै देशमा रोजगारी सिर्जना गर्न आवश्यक छ । उत्पादन शक्तिको विदेश पलायनले देशको समग्र उत्पादन क्षेत्रमा परेको असर एकातिर छ भने यसले प्रत्यक्ष रुपमा वा अप्रत्यक्ष रुपमा सिर्जना गरेको सामाजिक, आर्थिक समस्या अझै विकराल बन्न सक्दछ । सरकारले युवाहरुलाई उद्यमी र स्वरोजगार बनाउन सकेमात्र युवा जमातको विदेशिने मोह न्यूनिकरण गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार