इलाम : इलाम र पाँचथरको सीमा राँके बजारमा आइतबार साँझ आगलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ ।
इलामको देउमाई नगरपालिका–१ स्थित राँके बजारमा साँझा करिब ९ बजे स्थानीय थालुमान श्रेष्ठको घरबाट सुरु भएको आगलागी ३ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।
आगलागीबाट थालुमान श्रेष्ठको पाँच तले, सो घरमा रहेको लत्ता कपडा अन्य जिन्सी मालसामान सहित करिब १ करोड ५३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही घरमा रहेको जितबहादुर बस्नेतको किराना पसल जलेर ४० लाख र शिवबहादुर बिष्टको जुत्ता चप्पल पसल जलेर ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
आगलागी जिल्ला प्रहरी कार्यालय.इलाम, इकाला प्रहरी कार्यालय मंगलबारे, प्रहरी चौकी रक्सेका प्रहरी तथा सशस्त्र प्रहरी, नेपाली सेना, दमकल र स्थानिय बासीको सक्रियतामा सोमबार विहान १२ बजे नियन्त्रणमा आएको थियो । प्रहरी र स्थानीयले सुरुदेखि नै नियन्त्रणको प्रयास गरेपनि पाँचथरको फिदिमबाट दमकल आएपछि मात्र आगलागी नियन्त्रण भएको थियो ।
विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आगलागी सुरु भए लगत्तै ग्यास पड्किएपछि स्थानीय भागाभाग भएका थिए । आगलागीबाट कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।
इलामबाट गएको दमकल बाटैमा बिग्रियो
यसैबीच राँके बजारमा सुरु भएको आगलागी नियन्त्रणका लागि इलामबाट गएको दमकल आगलागीस्थल नै नपुगी बाटेमा बिग्रिएको थियो ।
इलाम नगरपालिकाको दमकल मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका १ साँखेजुङको मिल गोलाई भन्ने ठाउँमा बिग्रिएको थियो ।
इलामबाट भएको दमकल बाटोमा बिग्रिएपछि आगलागी नियन्त्रण्मा ढिलाई भएको थियो । पाँचथरको फिदिमबाट भने केही समय ढिला गरी दमकल आगलागीस्थल पुगेको थियो ।