चितवन : २०६९ मा रोटरी क्लब अफ ललितपुर मिड टाउनले भरतपुर महानगरपालिकालाई उपहारस्वरुप प्रदान गरेको दमकल झन्डै सात महिनादेखि बिग्रेर थन्किएको छ ।
जर्मनमा निर्मित उक्त दमकल मर्मतका लागि आवश्यक सामान नपाउँदा अहिले त्यसै थन्किन पुगेको हो । पानी फाल्ने पंखामा नट अड्कँदा पंखा फुटेको र उक्त पंखा निर्माणका लागि सामान नपाएको बारूण शाखाका इन्चार्ज देवेन्द्रराज रेग्मीले जानकारी दिए । ‘थन्किएको दमकल बनाउन ५० हजार रुपैयाँ लाग्छ । तर, सामान एसियाभरी नै पाइँदैन’ रेग्मीले भने । उनका अनुसार अहिले भरतपुर महानगरमा २ वटा दमकल रहेकोमा अर्को पनि बेलाबेलामा बिग्रने गरेको छ । ।
१३ जना कर्मचारी कामविहीन
यसैबीच, हाल नियमित रूपमा सञ्चालनमा रहेको एउटा दमकलका लागी १ जना इन्चार्ज, ३ जना चालक र ९ जना फायर फाइटर गरेर झन्डै एक दर्जनभन्दा बढी कर्मचारी कार्यारर्त छन् ।
२ वटा दमकल सञ्चालनमा रहँदा १९ जना कर्मचारी रहेकोमा हाल एउटा बिग्रेकाले यस शाखाका अन्य कर्मचारीहरु महानगरपालिकाकै अन्य काममा संलग्न रहेका छन् । एउटा बिग्रिएको र अर्को पनि कमसल अवस्थामा रहँदा पनि महानगरपालिकाले दमकलसँग सम्बन्धित उक्त कर्मचारी हरु कामविहीन अवस्थामा पुगेका हुन् ।
जिल्लामा चार वटा दमकल आवश्यक
यसैबीच, भरतपुर महानगरपालिकाले जिल्लामा ४ वटा दमकलको आवश्यकता रहेको भन्दै केन्द्रमा माग समेत गरेको जनाएको छ । सिंगो चितवन जिल्लाको एउटामात्रै दमकलले आगोजन्य घटनालाई नियन्त्रण लिन नसकिने भन्दै महानगरले केन्द्र समक्ष दमकल माग गरेको हो ।
यद्धपी, केन्द्रले भने उक्त मागको कुनै सुनुवाइ गरेको छैनन् । गत आर्थिक वर्षमा जिल्लामा भएका कुल ४९ वटा घटनामा आगो नियन्त्रणका लागि आफूहरु सफल भएको रेग्मीले बताए । सबैभन्दा बढी भरतपुर महानगरको वडा १० र ४ मा आगलागीका घटना ६–६ वटा रहेको इन्चार्ज रेग्मीले जानकारी दिए ।